भैंसीपालनबाट आम्दानी


१४ माघ २०७९, शनिबार
Buffalo 1

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–६ गोलौराकी ४५ वर्षीया वकी डाँगीको दिनचर्या बिहानको मिर्मिर उज्यालोदेखि बेलुकासम्म भैँसीका पाडापाडीको स्याहारसुसारमा बित्ने गरेको छ ।

छोटो समयमा व्यावसायिक भैँसीपालन गरेर एक सफल महिला उद्यमीका रुपमा आफूलाई चिनाउन सफल भएकी डाँगी सधैँ भैँसी स्याहारदेखि दूध बिक्री वितरणको काममा व्यस्त देखिन्छिन् । आठ वर्षदेखि भैँसीपालन गर्दै आएकी डाँगीको परिवारमा अहिले दुई जना सदस्य पनि यहीँ पेशामा संलग्न भएका छन् । साथै उनले आफ्नो फार्ममा स्थानीय दुई जनालाई रोजगारी समेत दिएकी छन् ।

डाँगी पशुपालन पेसाबाट सन्तुष्ट छिन् । ‘वार्षिक रू सात लाख बचत गर्ने गरेकी छु, आम्दानी राम्रो भएपछि दैनिकी सहज भएको छ’, उनले भनिन् । बिहानको मिर्मिरे उज्यालोसँगै उनको व्यस्तता सुरु हुन्छ । परम्परागत खेतीपाती गर्दै आएकी डाँगीले २०७० मा ‘शुभ भैँसी फार्म’ दर्ता गरी व्यावसायिक रुपमा भँैसीपालनको सुरुआत गरेकी थिइन् ।

उनले भनिन्, ‘सुरुमा रू एक लाखमा एउटा उन्नत जातको भैँसी खरिद गरी भैँसीपालन गरेका हाैं अहिले फार्ममा सानाठूला गरी ३८ वटा भैँसी छन् ।’ तीमध्ये १० वटा दुहुना भैँसी छन् । उनका अनुसार दैनिक ८० देखि ९० लिटरसम्म दूध तुलसीपुर बजारमा रहेको आफैले डेरी उद्योगबाट बिक्री वितरण गर्छिन् ।

कोरोना महामारीका समयमा उत्पादित दूधले उचित बजार नपाउँदा केही घाटा बेहोर्नु परेको भए पनि अहिले भने बजारको कुनै समस्या नरहेको डाँगीले बताइन् । ‘एक वर्षयता आफैले तुलसीपुर बजारमा डेरी उद्योग सञ्चालन गरेका छौँ, दाङमा दूधको फुटकर मूल्य रू ९० र दहीको रू एक सय प्रति लिटर छ, अहिले आम्दानी राम्रै भएको छ’, उनले भनिन् ।

शुक्रबार डाँगीको भैँसी फार्ममा दूध खरिद गर्न आएकी तुलसीपुर उमहानगरपालिका–६ रजौरा निवासी ४३ वर्षीया राधा पाण्डेले आफ्नै घरआँगनमा शुद्ध दूध खान पाइने भएकाले यहीँबाट लैजाने गरेको बताइन् । ‘यसअघि एक लिटर दूध किन्न पनि तुलसीपुर बजार जानुपर्ने बाध्यता थियो तर अहिले घर छेउमा ताजा दूध पाउँदा खुसी लागेको छ’, उनले भनिन् ।

डाँगीले फार्ममा अहिलेसम्म रू ४० लाख लगानी गरिसकेकी छन् भने दुग्धजन्य पदार्थ र मल बिक्रीबाट वार्षिक रू २० देखि २२ लाखसम्म आम्दानी हुने गरेको छ । आन्तरिक व्यवस्थापकीय सबैजसो खर्च कटाएर गत वर्ष रू सात लाख बचत गरेकी थिइन् । यस पटक डेरी पनि सञ्चालनमा रहेकाले बचत रकम बढ्न सक्ने उनको भनाइ छ ।

घाँसको पर्याप्त उत्पादन नहुँदा दाना तथा पराल, चरनलगायत अन्य सामग्री खरिद गर्दा लागत खर्च बढेको छ । ‘सरकारी निकायबाट प्राविधिक सहयोग पाएको छु तर आर्थिक सहयोग भने कुनै निकायबाट पनि पाएको छैन’, डाँगीले भनिन् ।

कम लगानीमा छोटो समयमा मनग्य आम्दानी गर्न सकिने भएकाले उनको भैँसी फार्ममा विभिन्न ठाउँबाट भैँसी हेर्न, जानकारी लिन तथा भैँसी खरिदका लागि मानिसहरु आउने गरेका छन् । पैसा कमाउन र जीविकोपार्जन गर्न जागिर खानै पर्छ वा विदेश जानैपर्छ भन्ने छैन, आफूले पढेको कुरा व्यवहारमा लागू गर्ने हो भने कृषि व्यवसाय राम्रो क्षेत्रका रुपमा साबित हुने उनको बुझाइ छ ।

राज्य नारामा मात्र सीमित नभई कृषि व्यावसायमा लाग्नेलाई व्यावहारिक रुपमा सहयोग गरेर कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउन सके कृषिमा आत्मनिर्भर हुनेको संख्या बढ्ने उनको धारणा छ । उत्पादित कृषि सामग्रीलाई उचित बजारको व्यवस्था गर्न सकेमा किसानलाई थप हौसला प्राप्त हुने उनको अनुभव छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७