मन्त्रीहरूले संघीयताविरुद्ध बोले स्वीकार्य हुँदैन : शक्ति बस्नेत


१८ माघ २०७९, बुधबार
shakti basnet

काठमाडौँ । सत्तारूढ नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले मन्त्रीहरूले संविधानको मूल्य र मान्यता विपरीत टिप्पणी गरे स्वीकार्य नहुने चेतावनी दिएका छन् । सरकारका केही मन्त्रीहरूले सङ्घीयताविरुद्ध अभिव्यक्ति दिइरहेका बेला उनको यस्तो यस्तो धारणा राखेका हुन् ।

आज बुधबार) प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद बस्नेतले मन्त्रीहरूलाई संविधानको मूल्यभन्दा बाहिर गएर अभिव्यक्ति दिने काम फेरि नगर्न सचेत गराए । उनले सरकार संविधान कार्यान्वयन गर्ने निकाय भएकाले त्यसमा रहेका मन्त्रीहरूले त्यस्ता खालका गल्ती गर्न नहुने बताए ।

सांसद बस्नेतले भने, ‘संसदमा यो विषयमा बहस एक हदसम्म स्वीकार्य पनि छ । सडकमा यसको बहस एक हदसम्म स्वीकार्य पनि होला । हरेकले आ–आफ्नो मूल्य र मान्यतालाई स्वीकार गरेर अघि बढ्लान् । सरकार संविधानको कार्यान्वयन गर्ने संस्था हो र मन्त्रिपरिषद्का सदस्यले संविधानको मूल्यभन्दा बाहिर गएर गर्ने टिप्पणी स्वीकार्य हुन सक्दैन । यस्ता प्रकारका गल्तीहरू आउँदा दिनमा नहून् ।’

सांसद बस्नेतले राजनीतिक दलहरूलाई आ–आफ्नो दृष्टिकोण स्थापित गराउने छुट भए पनि सरकारमा रहेका मन्त्रीहरूलाई जथाभाबी बोल्ने अनुमति संविधानले नदिएको पनि स्मरण गराए । उनले परिवर्तनकारी शक्तिहरूलाई स्वीकार गर्ने आँट नहुँदा देशमा व्यवस्था परिवर्तन भए पनि नागरिकको अवस्थामा भने परिवर्तन आउन नसकेको दाबी समेत गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७