सरकारबाट आजै बाहिरिने रास्वपाको तयारी

केन्द्रीय समिति र संसदीय दलको वैठक बस्दै


१९ माघ २०७९, बिहीबार
rabi

काठमाडौं । राष्ट्रिय स्तवन्त्र पार्टीले सरकारबाट बाहिरिने तयारी गरेको छ । सम्भवत आजै सरकारबाट बाहिरिन सक्ने रास्वपाका नेताहरुले जनाएका छन् ।

गृह मन्त्रालय नपाउने भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने तयारी गरेको हो । आज पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दैछ । बैठकले सरकारबाट बाहिरिने निर्णय गर्न सक्ने बताइएको छ । संसदमा १९ जना सांसद भएको रास्वपाले सत्ता गठबन्धनको भागबण्डामा उपप्रधानसहित तीन मन्त्री र एक राज्यमन्त्री पाएको थियो । सोही अनुसार सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बनेका थिए ।

उनको पुरानो नागरिकता कायम नभएकाले सांसद पद बदर हुने सर्वोच्चको फैसलापछि उनको पद गुमेको थियो। नागरिकता पुनः प्राप्ति गरेपछि उनले फेरि गृह मै फर्कने इच्छा देखाएका थिए । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उनलाई गृह मन्त्रालय दिन अस्वीकार गरेका छन् ।

नागरिकता प्रकरणले सांसद तथा उपप्रधान एवम् गृहमन्त्री गुमाएका सभापति रवि लामिछानेले फेरि मन्त्री बनाउन माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अल्टिमेटम दिएपछि अरु नेताहरु खुशी छैनन् । सभापति रवि लामिछानेको नागरिकता दुरुपयोग प्रकरणले पद गुमाएका उनी गैरसांसद बनेर सत्तामा रहन खोजेपछि पार्टीका नेता र सांसद विभाजित भएका छन् । सर्वोच्चको फैसलाले गुमेको गृहमन्त्रालय फेरि लिन उनले जोड गरिरहेका छन् । सभापतिको यही कार्यशैलीले रास्वपाभित्र तीन धार देखिएको छ ।

स्रोतका अनुसार सरकारमै बसेर गृह मन्त्रालयमा रविलाई नै पठाउनु पर्छ भन्ने धार, अर्को सांसदलाई गृहमा पठाएर रवि सरकार बाहिर बस्नुपर्छ भन्ने धार र रास्वपाले अहिले गृह नलिएर अर्कै लिनुपर्छ भन्ने तीन धारमा नेताहरु बाँडिएका हुन् ।

रवि आफैंले मिहेनेत गरेर गठन गरेको दल र उनकै व्यक्तित्वका कारण चुनावमा असाधारण मत आएकाले नेताहरु अहिले पनि उनीविरुद्ध खुलेर बोल्न सकिरहेका छैनन् । नागरिकता प्रकरणले सांसद गुमाएका सभापति रविलाई तत्काल सरकारमा नजान केही सांसदहरुले सुझाएका छन् । रविले उपनिर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट सजिलै जित्ने भन्दै गैरसांसदकै रुपमा गृहमन्त्रीमा फर्काउन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरिरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७