अभिनेत्री मनिषा कोइरालाद्वारा ‘मिसिगन ब्लुज’ लोकार्पण
काठमाडौं, ९ वैशाख । अभिनेत्री मनिषा कोइरालाले लेखक अरुण शर्माको उपन्यास ‘मिसिगन ब्लुज’ को लोकार्पण गरेकी छिन् ।
पुस्तक लोकार्पण गर्दै उनले भनिन्, ‘इमान साथ भन्नु पर्छ नेपाली भाषाको पूरा पुस्तक पढिसक्न मलाई मुस्किल हुन्छ र यो उपन्यास पनि मैले पूरा चाहिँ पढ्न सकिनँ । तथापि उपन्यास जति पढें राम्रो नै लाग्यो ।’ उनले अगाडि थपिन्, ‘पेन्गुइनबाट मेरो पुस्तक पनि आउन लागेको छ । यही जेठमा हुने प्रदर्शनीमा बुक लञ्च हुने सम्भावना छ । फेरि नेपाल आउने छु पुस्तककै बहानामा तपाईंहरुसँग फेरि छिटै दोस्रो भेट पनि होला ।’
उपन्यासबारे कवयित्री भुवन ढुङ्गानाले टिप्पणी गर्दै भनिन्, ‘प्रकृतिको अत्यन्त सुन्दर चित्रण गरिएको उपन्यासमा अमेरिकी सपना, कल्चर र परिवेशको चित्रण निकै सशक्त रुपमा गरिएको छ । उपन्यासले समेटेको चीन र नेपालको परिवेशले यसमा नियात्रात्मक फ्लेबर दिएको छ ।’
‘केही दिन अमेरिका घुमेको आधारमा उपन्यास लेख्नु र त्यही बसेर उतैको कल्चरमा घुलमिल भएर उतैको जीवनशैली बाँचेर लेखिनुमा धेरै फरक पर्छ । यो मामलामा लेखक सफल भएका छन्,’ लेखक तथा पत्रकार नारायण वाग्लेले भने । लेखक अरुणका अनुसार, ‘यो अमेरिकन, चाइनिज र नेपालीको भित्री दुःख र त्यस दुःखबाट देखिने नयाँ खोज हो मिसिगन ब्लुज ।’ पेशाले इन्जिनियर लेखक अरुण शर्माको यो पाचौं कृति हो ।