मेडिकल कलेज सञ्चालनको स्वीकृति


२४ माघ २०७९, मंगलवार
pu gothgau

मोरङ । मोरङको सुन्दरहरैंचास्थित पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा मेडिकल कलेज सञ्चालनका लागि मन्त्रिपरिषद्बाट स्वीकृति प्राप्त भएको छ । पूर्वाञ्चल विश्वविद्यालय स्थापनको २९औं वर्ष चलिरहँदा यसले पूर्णता पाएको हो । कोसी अञ्चल अस्पताललाई टिचिङ अस्पतालका रूपमा प्रयोग गरी पूर्वाञ्चर विश्वविद्यालयमामेडिकल कलेज सञ्चालन गर्ने तयारी भएको मोरङ क्षेत्र नं ३ का सांसद डा. सुनिल शर्माले बताए ।

अस्पताल सेवा विस्तारका साथै मेडिकल कलेज सञ्चालनका लागि मोरङ क्षेत्र नं ३ का सांसद डा. शर्मा तथा प्रदेशमन्त्री जीवन आचार्यलगायतले पहल गरेको र प्रधानमन्त्री र स्वास्थ्य तथा जनसंख्यामन्त्री दुवै सकारात्मक भएपछि मन्त्रिपरिषदबाट निर्णय भएको सुन्दरहरैँचा नगरपालिकाका निर्वतमान नगर प्रमुख शिवप्रसाद ढकालको भनाइ छ ।

सांसद डा. शर्माले चुनावी प्रतिबद्धतापत्रमा विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्ने उल्लेख गरेका थिए । उनले कम्तीमा तीन सय शैंयाको अस्पताल सञ्चालन नभए मेडिकल कलेज सञ्चालन गर्न नपाइने बताए । ‘त्यसैले मेडिकल कलेज सञ्चालनका लागि आधारभूत काम अस्पताल सञ्चालन गर्नु हो’, उनले भने ।

उनले विश्वविद्यालयका उपकुलपति प्रा डा यादवराज कोइराला, कुलसचिव नीलमणि पोख्रेल र अस्पताल निर्देशक डा. विपेश आचार्यसँग अस्पताल सञ्चालनका विषयमा सघनरूपमा छलफल भइ मेडिकल कलेज सञ्चालनका लागि मन्त्रिपरिषद्बाट स्वीकृत भएको उल्लेख गरे । ‘अब कुनै पनि बहानामा अस्पताल सञ्चालनरोकिने छैन’, शर्माले भने, ‘अस्पताल पूर्णरूपमा सञ्चालन भएसँगै मेडिकल कलेज सुरु गर्न अब कुनै अप्ठ्यारो हुँदैन ।’

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति कोइरालाले आगामी वर्षदेखि मेडिकल कलेज सञ्चालन र भर्ना प्रक्रिया सुरु हुने जानकारी दिए । ‘मन्त्रिपरिषद्ले कोसी अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग स्वीकृति दिएको छ’, उपकुलपति कोइरालाले भने, ‘अब बाँकी काम विश्वविद्यालयले अगाडि बढाउने हो ।’

उनका अनुसार मन्त्रिपरिषद्ले कोसी अस्पताल प्रयोग स्वीकृति दिएसँगै विश्वविद्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शिक्षा मन्त्रालयबीच त्रिपक्षीय समझादारीमा हस्ताक्षर हुनेछ । सम्झौतासहितको सम्पूर्ण प्रतिवेदन चिकित्सा शिक्षा आयोगमा विश्वविद्यालयले पेस गर्नेछ । विश्वविद्यालयले पेस गरेको प्रतिवेदनका आधारमा चिकित्सा शिक्षा आयोगले कोटासहित मेडिकल कलेज सञ्चालनको अनुमति दिएपछि भर्नाको प्रक्रिया प्रारम्भ हुनेछ ।

विश्वविद्यालयका उपकुलपति कोइरालाले विश्वविद्यालयले थप केही आवश्यक सुधार गरी गोठगाउँ अस्पताल सञ्चालन गरिरहेको बताए । उनले स्थानीय समाजलाई अस्पताल तथा मेडिकल कलेजसँग जोडेर गोठगाउँमा विश्वविद्यालय भएको अनुभूति दिलाउन सफल भएको उल्लेख गरे । कोइरालाले भने, ‘अब नयाँ प्रक्रियाबाट काम अघि बढेर तीन सय शय्याको अस्पतालसमेत सञ्चालन हुनेमा ढुक्क रहन आग्रह गर्नुभयो ।’

विश्वविद्यालयका अस्पताल निर्देशक डाक्टर डा विपेश आचार्यले हाल अस्पतालले १२ जना विशेषज्ञ डाक्टरसहित करिब ८५ जना जनशक्तिबाट स्वास्थ्य सेवा दिइरहेको उल्लेख गरे । ‘हामीले २०७७ साल कात्तिकमा पूर्वाञ्चल विश्वविद्यालयको प्रधान कार्यालय गोठगाउँमा सरेपछि यहाँ अस्पताल छ, भन्नेसम्म बनाएका हौँ । हाल दैनिक न्यूनतम तीन सय ५० देखि चार सय जनासम्म बिरामीले अस्पतालबाट सेवा लिइरहेका छन्’, उनले भने ।

स्थापनाकालमा सात सय शैंयाको अनुमति लिएको पनि घटाएर तीन सय शैंयाको अस्पताल सञ्चालन गर्ने निर्णय भएको हो । विसं २०६५ मा ५० शैंयाको अस्पताल सुरु गरेको विश्वविद्यालयले हाल गोठगाउँमा आकस्मिक सेवासहित ३० शैंयाको अस्पताल सञ्चालन गरिरहेको छ । अस्पतालमा आकस्मिक सेवा भए पनि हाल बिहान १० देखि बेलुका ५ बजेसम्म सञ्चालन हुँदै आएको छ ।

विश्वविद्यालयमा हाल चिकित्सा शास्त्रअन्तर्गत बिएस्सी नर्सिङ, पिबिएन, बिपिएच, बी फार्मेसी, बिएस्सी एमएलटी, एमपिएच र एम फार्मेसी गरी सात विषयमा पढाइ सञ्चालन भइरहेको छ । अहिले विश्वविद्यालयमा विभिन्न विषयमा गरी करिब सात सय विद्यार्थीहरू अध्ययानरत छन् ।

पूर्वाञ्चल विश्वविद्यालयले २०६१ सालमा रू ३० करोड लगानी गरी निर्माण गरेका भवनहरू कुनै समय काँसघारीले छोपिएका थिए । यतिबेला विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन हुने विषयले स्थानीय मात्र होइन विश्वविद्यालय प्रशासन पनि उत्साहित भएको विश्वविद्यालयका सिनेटसभा सदस्य लोकप्रसाद सङ्ग्रौलाले उल्लेख गरे । पूर्वाञ्चल विश्वविद्यालयको भवन २०५१ सालमा गिरिजाप्रसाद कोइरालाले शिलान्यास गरेका थिए । नेपाल सरकारले विश्वविद्यालयलाई भोगचलन गर्न दिएको आठ सय पाँच बिघा जग्गामध्ये ८५ बिघा जमिनमा विश्वविद्यालयले घेराबार गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७