घाँसीकुवाको अस्तित्व जोखिममा


२ फाल्गुन २०७९, मंगलवार
Ghashi kuwa tanahu scaled

भरजन्म घाँसतिर मन दिई धन कमायो ।
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो ।
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो ?
म भानुभक्त धनी भैकन किन आजयस्तो

यो कवितांश घाँसीबाट प्रेरणा पाई आदिकवि भानुभक्त आचार्यद्वारा रचिएको हो । भानुभक्त मामाको घर मानहुँ पुगेर पैदल बाटो फर्किने क्रममा घाँसीकुवामा नै घाँसीसँग भेट भएको र सोही घाँसीबाट प्रेरणा पाई सो कविता रचना गरेका थिए भन्ने भनाइ छ ।

त्यसैले यस कुवाको संरक्षण आवश्यक रहेको स्थानीय तथा साहित्यिक क्षेत्रका व्यक्तित्वको भनाइ छ । घाँसीकुवालाई आदिकवि भानुभक्त आचार्यको प्रमुख प्रेरणास्थलको रुपमा पनि लिइएको छ । पृथ्वी राजमार्गको विस्तारले गर्दा घाँसीकुवाको अस्तित्व जोखिममा परेको छ ।

पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्ड विस्तारले घाँसीकुवामा रहेको कुवा र उद्यान मासिने जोखिम बढेको छ । सडक विस्तार गर्दा हाल घाँसीकुवामा रहेको भानु–घाँसी स्मारक पार्क पनि हटाउनुपर्ने हुँदा संरक्षणका लागि तुरुन्त चासो राख्नुपर्ने माग स्थानीयवासीको छ । सडक विस्तारले गर्दा यहाँको अस्तित्व मासिने अवस्थाका लागि पटक–पटक स्थानीयवासीले नगरपालिका र प्रदेश तथा सङ्घ सरकारसमक्ष अनुरोध गर्दै आएको छ ।

घाँसीकुवाको संरक्षणका लागि सम्बन्धित पक्षसँग छलफल गरिएको र त्यहाँको जमिन जोगाएर सडक बनाउने प्रयत्न भइरहेको व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले बताए । ‘न्यून आय भएका कमजोर व्यक्तिले पनि प्रेरणा, माया र शिक्षा दिन सक्दा रहेछन् भन्ने सन्देश घाँसीकुवाले दिइरहेको छ, हाल रहेको कुवाभन्दा थोरै तल सारेर घाँसीकुवाको मूल्य मान्यतालाई स्थापित गर्नेछौं’, नगर प्रमुख न्यौपानेले भने । ‘विगतमा सबैलाई सहज बनाउने उद्देश्यले कुँवा केही तल सारिएको थियो, प्रेरणा स्थल संरक्षण गर्नेछौं’, उनले भने । घाँसी स्मारक पार्क संरक्षण समितिका कर्मचारी तथा स्थानीय बासिन्दा प्रेमराज पन्थले ऐतिहासिकस्थलको जसरी पनि संरक्षण हुनुपर्ने बताए ।

‘यहाँ धेरैले फोटो खिचेका छन्, घाँसीकुवाको पानी खाएका छन्, यो ऐतिहासिक ठाउँको संरक्षणका लागि सबैको चासो हुनुपर्छ’, पन्थले भने । देशव्यापी रूपमा चिन्ने ठाउँलाई जसरी पनि बचाउनु पर्छ र इतिहास मेट्न दिन नहुने पन्थको भनाइ छ । घाँसीको सम्झना र सम्मानमा तनहुँको एउटा गाविसको नाम नै ‘घाँसीकुवा’ राखिएको थियो । तर सङ्घीयता कायम भएसँगै अहिले यो गाविस व्यास नगरपालिकामा समायोजन भएको छ । सदरमुकाम दमौलीबाट पूर्वतर्फ करिब पाँच किलोमिटरको दूरीमा घाँसीकुवा पर्दछ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७