डीआईजी अशोक सिंह राजीनामा दिने तयारीमा


१० फाल्गुन २०७९, बुधबार
Ashok Singh

काठमाडौं । नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले राजीनामा दिने तयारी गरेका छन् ।
सिंहले आज (बुधबार) राजीनामा बुझाउने तयारी गरिरहेका स्रोतले जानकारी दिएको छ । उमेर ढाँटेर जागिर खाएको भन्दै उजुरी परेपछि सिंहले राजीनामा दिएका हुन् ।

जिल्ला प्रशासन कार्यालय कैलालीबाट जारी नागरिकता र प्रहरी सेवाका क्रममा बुझाइएको नागरिकतामा मिति फरक फरक पाइएपछि सिंह विवादमा तानिएका थिए । उमेर झुक्याएको भन्दै डीआईजी सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

जिल्ला प्रशासन कार्यालय, कैलालीबाट जारी नागरिकता अनुसार उनको जन्ममिति २०२४ हुनुपर्ने हो । सिंहको शैक्षिक प्रमाण पत्रमा जन्ममिति १६ पुस २०२५ जन्ममिति उल्लेख छ । त्यही अनुसार प्रहरी प्रधान कार्यालयको सिट रोलमा उनको जन्ममिति कायम गरिएको देखिएको छ ।

तर, प्रहरी नियमवालीमा सेवा प्रदेश गर्दा सम्बन्धित व्यक्तिले लिएको नागरिकताको प्रमाण पत्र, शैक्षिक योग्यताको प्रमाण पत्र र वैयक्तिक विवरण सबैमा एउटै मिति नभए जुन मितिबाट पहिले अवकाश हुन्छ, सोही मितिका आधारमा हिसाब हुने भनिएको छ । त्यस अनुसार उनको जन्ममिति नागरिकता अनुसार कायम २०२४ कायम हुनुपर्ने प्रहरी प्रधान कार्यालयका अधिकृतहरु बताउँछन् ।

नागरिकता अनुसारको उमेर कायम भएको भए सिंहले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को उमेर हदका कारण २२ जेठ २०७९ मै अवकाश पाउनुपर्ने हो । सिटरोलमा फरक विवरण हुँदा उनी डीआईजी बढुवा मात्र भएनन्, एआईजी बढुवामा पनि बलियो दाबी गरिरहेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७