यो लडाईँ क-कसको हो : को हो असली बिजेता ?

यी तीन दृश्य हेरेपछि बडो ढुक्कको साथ भन्न सकिन्छ, प्रचण्डले ओलीसँगको अप्ठ्यारो–सजिलो वा लोकतन्त्र, संबिधान र संघीयताको असीम मायाले १० पुसको सम्झौता च्यातेका होइनन् । भिक्टोरिया न्युल्याण्ड, समान्था पावर र विनयमोहन क्वात्राको मार्गचित्र अनुसार हिंड्नै पर्ने नमिठो बाध्यताले पेलिएर-ठेलिएर सम्झौता च्यातिएको हो ।


१५ फाल्गुन २०७९, सोमबार
Rajesh rai article design scaled

पूर्व दृश्य
१० पुस २०७९, करिब बिहान ९ बजे बालुवाटार छिरेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ १ बजे बालुवाटारबाट बाहिरिदैँ गर्दाको दृश्य हेरौं । प्रचण्ड हतारमा मात्रै थिएनन् बेचैन र हतास पनि थिए । युद्ध हारेर फर्किएको कमाण्डर जस्तो । अथवा आफ्ना प्रियजनलाई घाटमा छोडेर फर्किएको मलामी जस्तो वा मन परेको प्रेमिकाले धोका दिएर घर फर्किंदै गरेको उदास–उदास प्रेमी जस्तो ।

प्रचण्डलाई धोका उही प्रेमी अर्थात् कांग्रेसका सभापति शेरबहादुर देउवाल दिएका थिए । धोका अर्थात् पूर्व सहमति अनुसार पहिलो प्रधानमन्त्री दिन अस्वीकार गरिदिएका थिए । यो धोकापछि प्रचण्ड कालीप्रसाद रिजालको गीत ‘भोलि उठी कहाँ जाने केही थाहा छैन, फर्कि आउने हो कि होइन केही थाहा छैन’ काे अवस्थामा बालुवाटारबाट बाहिरिएका थिए ।

बालुवाटारको धोकापछि प्रचण्ड खुमलटार हुँदै हुत्तिएर वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देवप्रसाद गुरुङ र उपमहासचिव वर्षमान पुनसहित दिउँसो २ बजे बालकोट पुगे । प्रचण्ड यति धेरै हतारमा थिए कि आफूलाई चुपचाप र बेहिसाब सहयोग गरिरहेका माधव नेपाललाई ‘लु जाउँ है’ भन्ने समेत भ्याएनन् । पछि माधव नेपालले गुनासो गरेका थिए, ‘प्रचण्डले बालकोट जाम् पनि भनेनन् ।’

बालकोटमा प्रचण्डलाई पर्खिरहेका थिए, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली । प्रचण्डले ओलीसँग साथ मागे । प्रधानमन्त्रीका लागि प्रस्ताव बुझाउन राष्ट्रपतिले दिएको समय ३ घण्टामात्रै बाँकी थियो । अध्यक्ष ओलीले पुराना सबै तिक्तता भुलेर प्रचण्डलाई प्रधानमन्त्री बनाउन तयार भए ।

करिब दिउँसो ३ः१५ बजे प्रचण्डलाई प्रधानमन्त्री बनाउन ७ दलका १६६ सांसद तयार भए । १६६ सांसदको हस्ताक्षर बोकेर शितलनिवास निस्कनुअघि बालकोटको बार्दलीबाट मुस्कुराउँदै अध्यक्ष ओलीसँगै हात हल्लाए । ओलीले प्रचण्डलाई बालुवाटारबाट समातेर निकालेका थिएनन् । देउवाले धकेलेर पठाएपछि हुत्तिएर प्रचण्ड बालकोट पुगेका थिए । हुत्तिएर पुगेका प्रचण्डलाई ओलीले लड्नबाट जोगाएर थामिदिए ।

Kp prachanda balkot
शितलनिवास निस्कनुअघि

यही पृष्ठभूमिमा प्रधानमन्त्री बनेका प्रचण्ड दुई महिनापछि बदलिएका छन् । युद्ध हारेको सिपाही जस्तो १० पुसमा बालुवाटारबाट निस्किएका प्रचण्ड १२ फागुन २०७९ मा संसार जित्न हिंडेको कमाण्डर जसरी कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराउन लम्किरहेका थिए । जुन सहमतिमा (एमालेलाई राष्ट्रपति) आफू प्रधानमन्त्री बनेका थिए, त्यही सहमति दुई महिनामै च्यातेर हिंडेका प्रचण्डको हाउभाउ र शैली यस्तो थियो, ‘मानौं अब उनले जित्नुपर्ने कुनै युद्ध बाँकी छैन ।’

अब देखाइने दृश्य
सहमति तोडेको केही घन्टा नबित्दै सार्वजनिक मञ्चबाटै नेकपा (एमाले)लाई चेतावनीको शैलीमा भने ‘अब सरकार छोडर बाटो लाग्नु ।’ प्रचण्ड यतिसम्म हतारिएका छन् कि पूर्व निर्धारित कार्यक्रम संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषदको बैठकमा भाग लिन हिंड्न लागेकी परराष्ट्रमन्त्री डा. विमला राई पौड्याललाई विमानस्थलतर्फ हिंड्न लाग्दा रोकिदिए । वहालवाला मन्त्रीको भ्रमण रोकेर राज्यको औपचारिक पदमा नरहेका गोविन्द वन्दीलाई किन पठाइयो ? यसको अर्को नै कहानी छ । जुन यहाँ उल्लेख गर्दा लामो हुन जान्छ ।

अब राष्ट्रपति निर्वाचन, विश्वासको मत आदि प्रक्रिया चल्नेछ । अब सम्भवतः सार्वजनिक मञ्च र सदनमा फेरि एमाले र एमालेका अध्यक्ष ओलीविरुद्ध प्रचण्ड जाइलाग्नेछन् । र, प्रचण्डले उही पुरानो भाष्य प्रयोग गरेर भन्ने छन्, ‘ओलीबाट संबिधान र लोकतन्त्रमाथि खतरा देखेपछि मैले नयाँ गठबन्धन बनाएँ ।’ यो भाष्य एमालेविरुद्ध कम्ती ‘साना दुःख’ले तयार पारिएको ‘रेडिमेड’ भाष्य होइन ।

यो भाष्य निर्माणमा धेरै धेरैको योगदान छ । जस्तो एमाले विरोधी दलहरु, कथित नागरिक समाज, कर्पोरेट हाउस, नियोगहरु आदि । ‘चिसो भनेकै कोकाकोला’ भने जस्तो ‘लोकतन्त्रमाथि खतरा भनेकै एमालेबाट’ जसरी प्रचण्डले भाका र भाषा मिलाएर भन्नेछन् । सायद यो पनि भन्नेछन्, ‘राप्रपाबाट गणतन्त्र र संघीयतामाथि खतरा देखेँ ।’ अझ यो पनि भन्नेछन्, ‘रवि लामिछानेहरुले मलाई अप्ठ्यारो बनाए ।’

प्रचण्डको यो भनाइमा कांग्रेसहरुले ताली मार्नेछन् । स्रोत, शब्द र शिल्पले सुसज्जित बिश्लेषकहरुले त्यसको स-प्रसङ्ग व्याख्या गरिदिनेछन् । नागरिक समाजले हो भनिदिनेछ । सम्पादकहरुले ‘हो हो’ भनेर खिपेर लेखीदिनेछन् । उनीहरुले गजब गरी ‘माइन्ड फ्रेमिङ’ गरिदिनेछन् । र भन्नेछन्, ‘हो, संबिधान जोगाउने कांग्रेस र माओवादीको गठबन्धन ।’ के प्रचण्डले लोकतन्त्र, संबिधान र संघीयतामाथि खतरा देखेर गठबन्धन परिवर्तन गरेका हुन् त ? वा ओलीको कार्यशैलीले थिचिएर भागेका हुन् ? वा अरु नै कारण छन् ? तिनको उत्तर खोज्न १० पुसपछिका असली दृश्यहरुलाई हेर्नुपर्ने हुन्छ ।

असली दृश्य
त्यसलाई नजिकबाट बुझ्न १० पुसयताका घटनाक्रमहरुलाई हेरौं । १५ माघ २०७९ मा राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया न्युल्याण्ड दुई दिने भ्रमणका लागि काठमाडौं उत्रिइन् । उनले प्रधानमन्त्री प्रचण्ड, परराष्ट्रमन्त्री डा.विमला राई पौड्याल, कांग्रेस सभापति देउवा, एमाले अध्यक्ष ओली, कांग्रेस महामन्त्री गगन थापा लगायतसँग भेट गरिन् ।

स्रोतहरुका अनुसार १० पुसबाट विकसित राजनीतिक घटनाको गहिरो अध्ययन र सम्भावनाको खोजीका लागि उनी नेपाल आएकी थिइन् । उनले खासगरी प्रधानमन्त्री दाहाल र सभापति देउवासँग मसिनो कुरा गरिन्, समस्या खुट्याइन्, अमेरिका उडिन् । भिक्टोरिया अमेरिका फर्केको एक साता नबित्दै २४ माघ २०७९ मा अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) प्रमुख समान्था पावर दुई दिने भ्रमणमा काठमाडौं ओर्लिइन् ।

Victoria Nuland
अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया न्युल्याण्डसँग प्रधानमन्त्री

यो सन् २००२ मा तत्कालीन विदेशमन्त्री कोलिन पावेलले नेपालको औपचारिक भ्रमण गरेपछि अमेरिकाबाट भएको सबैभन्दा उच्चतहको भ्रमण थियो । समान्था पावरको भ्रमण किन महत्वपूर्ण छ ? त्यसलाई सजिलो गरी बुझ्न उनी को हुन् ? भन्ने तथ्य बुझे पुग्छ । यूएएआईडीमार्फत् विश्वभर रहेका १० हजारभन्दा धेरै कर्मचारीको नेतृत्व गरिरहेकी समान्था अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्को सदस्य हुन् ।

अमेरिकाको क्याबिनेट स्तरकी उच्च अधिकारी समान्थालाई तत्कालीन राष्ट्रपति बाराक ओबामाले सन् २०१३ देखि २०१७ सम्म यूएनका लागि २८ औं अमेरिकी स्थायी प्रतिनिधि (राजदूत) का रूपमा नियुक्त गरेका थिए । सन् २०२१ मा उनलाई राष्ट्रपति जो बाइडेनले युएसएडको प्रशासकमा नियुक्त गरेका थिए । दुई दुई अमेरिकी राष्ट्रपतिको गहिरो विश्वास जितेकी प्रभावशाली अमेरिकी उच्च अधिकारी समान्था काठमाडौं घुम्न पक्कै आएकी होइनन् ।

Samantha Power 1
अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) प्रमुख समान्था पावर नेपाल भ्रमणको क्रममा ।

राजनीतिको सामान्य ज्ञान हुनेहरुलाई पनि थाहा छ–‘कांग्रेस सभापति देउवालाई अमेरिकाले आफ्नो मान्छ ।’ यो पनि थाहा छ, ‘पछिल्लो समयमा राजनीतिमा तेज गतिमा दौडिरहेका कांग्रेस महामन्त्री गगन थापालाई पनि उसैगरी अमेरिकाले माया गर्छ ।’ अझ सिधा भाषामा भन्दा देउवालाई जसरी गगनलाई पनि अमेरिका हुर्काउन चाहन्छ ।

१० पुस देउवाका लागि एउटा अकल्पनीय दुर्घटना जस्तो थियो । देउवाको दुर्घटना उसलाई माया गर्ने शक्तिराष्ट्रहरुको पनि दुर्घटना नै थियो । १० पुसले निर्माण गरेको गठबन्धन कसिदै गएमा नेपालमा आफ्नो प्रभुत्व कमजोर बन्ला कि भन्ने त्रासमा थियो । नेकपा (माओवादी केन्द्र)का प्रभावशाली नेता वर्षामान पुनः चीनबाट फर्किए लगत्तै बनेको गठबन्धनप्रति अमेरिका संशकित हुनु नौलो थिएन । विस्तारै वामपन्थी शक्तिहरु एक हुने अवस्था निर्माण नहोस् भन्नेमा अमेरिका उत्तिकै चनाखो रहिआएको छ । वामपन्थी शक्तिहरु एक र शक्तिशाली भए चीन हावी होला भन्ने अमेरिकी त्रास बुझ्न गाह्रो छैन ।

स्रोतहरुका अनुसार ओबामा र वाइडेन दुबैले गहिरो विश्वास गरेकी समान्थाले दुई दिनमा काम फत्ते गरेर नेपाल फकिईन् । अमेरिका र देउवा दुवैको ‘रेस्क्यू’ को सम्पूर्ण आधार तयार पारेर काठमाडौं छोडिन् । १० पुसमा ओलीसँग सम्झौता गरेका प्रचण्डलाई कांग्रेसको अजेन्डा अनुसार हिंड्न बाध्य पार्ने सबैभन्दा बलियो समान्थाको हतियार थियो, संक्रमणकालीन न्याय वरिपरि घुमेको राजनीति । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन (टिआरसी) टुङ्गोमा पुगेको छैन ।

करिब १० वर्ष लामो राजनीतिक संक्रमणकाल र संबिधान जारी भएको ७ वर्ष हुन लाग्दा पनि संक्रमणकालीन न्याय सम्पादन निचोडमा पुगेको छैन । अब करिब ३ वर्षभित्रमा यो टुङ्गोमा पुग्न नसके कतिपय अवस्थामा हेग यात्रा अर्थात् द नेदरल्याण्ड्सको द हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीको सामना गनुपर्नेमा नेताहरु चिन्तित छन् । हेगले नरसंहार, युद्ध अपराध र मानवताविरुद्धको अपराध लगायत विषयका मुद्दा हेर्छ । समान्थाले प्रचण्डलाई त्यतातिर फर्केर हेर्न चेतावनी दिएपछि ‘यु टर्न’ भएको सजिलै अनुमान गर्न सकिन्छ । ‘वामपन्थी एकता वा गठबन्धन होइन कांग्रेससँग हिंड्नु’ भनेर संकेत दिनु समान्थाको लागि सामान्य हो ।

समान्थाको भ्रमण लगत्तै १ फागुनमा भारतीय विदेश सचिव विनयमोहन क्वात्रा दुई दिने भ्रमणका लागि नेपाल आइपुग्छन् । सार्वजनिक खपत हुनेगरी क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारी, दाहाल देउवा, ओली लगायतलाई छुट्टाछुट्टै भेटेर मन्त्रणा गर्छन् । तर तस्वीरमा नआएको एउटा भेटवार्ता यस्तो निर्णायक रह्यो जसले गर्दा १० पुसमा एमालेसँग भएको सम्झौता च्यातेर कांग्रेससँग हात मिलााउन पुगे ।

Shri Vinay Kwatra
भारतीय विदेश सचिव विनयमोहन क्वात्रासँगको औपचारिक भेटमा प्रधानमन्त्री

स्रोतहरुका अनुसार १ फागुन राति भारतीय राजदूतावासमा क्वात्रासँग भेट्न सबैभन्दा पहिले कांग्रेस सभापति देउवा प्रवेश गरे । राजनीतिक दृश्य बदल्नका लागि आबश्यक सूत्रहरु सहित संवाद गरे । समान्थाहरुले तयार पारिदिएको जगमा संवाद भयो । लगत्तै बोलाइयो प्रधानमन्त्री दाहाललाई । ब्रिफिङ र प्रस्ताव सुने । प्रस्तावमा लाहाछाप लगाइदिए । यी मुख्य दुई भेटअघि आवश्यक वाताबरण तयार पारिदिने काम भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का उच्च अधिकारीहरुको थियो । उच्च स्रोतका अनुसार रअका उच्च अधिकारीहरु नेपालमा तीन साता सक्रिय थिए । त्यहीविचमा अमेरिकी केन्द्रीय गुप्तचर विभाग(सिआइए)का प्रमुख नेपाल आउने समाचार पनि नआएका होइन । के कारणल भ्रमण रोकियो ? पछि खुल्दैजाला ।

यहाँनिर स्वभाविक एउटा प्रश्न उठ्छ, ‘के हाम्रो सन्र्दभमा समान्था र विनयमोहनको स्वार्थ साझा हो ?’ यसको उत्तर मिश्रित नै हुनेछ, ‘साझा हो, साझा होइन ।’ नेपालको आन्तरिक व्यवस्थापनको स्वार्थमा समान्था र विनयमोहन फरक छन् । तर चीनलाई हेर्ने मामिलामा उनीहरु एउटै कित्तामा छन् । प्रकारन्तरले पछिल्लो टकराव चीनलाई हेर्ने अथवा वाम शक्तिहरुको एकता रोक्नेसँग सम्बन्धित छ ।

घामजस्तै छर्लङ्ग यी तीन दृश्य हेरेपछि बडो ढुक्कको साथ भन्न सकिन्छ, प्रचण्डले ओलीसँगको अप्ठ्यारो–सजिलो वा लोकतन्त्र, संबिधान र संघीयताको असीम मायाले १० पुसको सम्झौता च्यातेका होइनन् । भिक्टोरिया न्युल्याण्ड, समान्था पावर र विनयमोहन क्वात्राको मार्गचित्र अनुसार हिंड्नै पर्ने नमिठो बाध्यताले पेलिएर-ठेलिएर सम्झौता च्यातिएको हो ।

को हो असली विजेता ?
सम्भवतः नयाँ बनेको गठबन्धन आगामी निर्वाचनसम्मै टिक्ला । यदि त्यसो भएमा यसबाट धेरै काम हुनेछ । पहिलो, वाम एकता र सहकार्य रोक्ने मात्रै होइन शत्रुतापूर्ण अवस्था सृजना गर्नेछ । वामन्पथी शक्तिहरुको शत्रुतापूर्ण सम्बन्धमा छिरेर कसरी आफ्नो प्रभुत्व कसरी लाद्न सकिन्छ ? भिक्टोरिया न्युल्याण्ड, समान्था पावर र विनयमोहन क्वात्रासँग रोडम्याप तयार छ । यो रोडम्याप लागु हुनेछ ।

दोस्रो, वामपन्थीहरुलाई मिल्न नदिएर आफ्नो गुम्दै गएको पुरानो वर्चस्व कसरी फर्काउन सकिन्छ ? त्यो मार्गचित्र कांग्रेससँग छ । उसले त्यो लागु गर्ने अधिकतम् प्रयास गर्नेछ ।

१० पुसदेखि १२ फागुनसम्मको लडाईँमा एमाले हारेको छ, ओली हारेका छन् । वामपन्थी आन्दोलन मात्रै होइन एक हिसाबले हाम्रो स्वतन्त्रता, सार्वभौमिकता, स्वाधीनता र स्वाभिमान समेत हारेकाे छ । साँचो अर्थमा त प्रचण्ड स्वयम् पनि हारेका छन् । यो हारको स्वीकारोत्ती अहिले होइन उनले भबिष्यमा गर्नेछन् । वर्तमान इतिहासको कर्महरुको कुल योगफल हो । प्रचण्डको आजको बाध्यता इतिहासको जोडफल हो । सायद उनलाई इतिहासले खेदिरहेका छन् । भाग्दा–भाग्दै १० पुसको सहमतिबाट भागेर १२ फागुनको सम्झौतामा पुगे । भबिष्य वर्तमानमा गरिरहेका कर्महरुले निर्धारण गर्नेछ ?

असली विजेता भिक्टोरिया न्युल्याण्ड, समान्था पावर र विनयमोहन क्वात्राहरु हुन् । त्यसपछि मात्रै देउवा, गगनहरु हुन् । अब यहाँनिर एउटा प्रश्न जरुर उठ्छ, ‘के उनीहरु सधैं जितिरहन्छन् त ? त्यो कठिन छ । हाे, अहिले कर्नरमा पारिएका वा पराजित गरिए जस्तो देखिने एमालेसँग विनयमोहन क्वात्रा, समान्था पावरहरु छैनन् । उनीहरुद्धारा सञ्चालित र स्थापित नियोगहरु छैनन् । एमालेसँग कर्पोरेट हाउस र हाउसहरुद्धारा सञ्चालित शिप र शैलीले सुसज्जित मान्छेहरु छैनन् । तर एमालेसँग जनता छ, सबैभन्दा श्रेष्ठ विचार छ, गौरवमय विरासत छ । असाध्यै व्यविस्थत र सुदृढ संगठन छ, परिपक्व नेतृत्व छ । एमालेको यही नेतृत्व हो जसले भारतीय भारतीय नाकाबन्दीको डटेर सामना मात्रै गरेनन् पछाडि फर्किन बाध्य पारेको थियो । वस् ! पर्खिनुपर्छ असली विजेता इतिहासले फेरि एक पटक खोज्नेछ ।

लेखकलाई पछ्याउनुहोस्

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७