महेश बस्नेतको घरमै पुगेर मेयर बालेनले भने– पुराना कुरा बिर्सौ, सहकार्य गरौं


२४ फाल्गुन २०७९, बुधबार
balen and mahesh

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र नेकपा (एमाले) नेता महेश बस्नेतबीच भेटवार्ता भएको छ ।
नेता बस्नेतलाई भेट्न मेयर बालेन शाह बस्नेतकै निवास भक्तपुर पुगेका थिए । बालेनले बस्नेतसँगै खाना समेत खाएका थिए । भेटवार्ताका क्रममा बालेनले सहकार्य गरेर अगाडि बढ्न प्रस्ताव गरेका थिए । बस्नेतले पनि आफू बालेनलाई साथ र सहयोगका लागि तयार रहेको बताएका थिए ।

मेयर शाहले विकास निर्माणको नाममा भत्काउने र कानुनको समेत ख्याल नगरेको भन्दै बस्नेतले उनका कदमविरुद्ध सार्वजनिक मञ्च र सामाजिक सञ्जालबाट कडा आलोचना र टिप्पणी गर्दै आएका छन् । बस्नेतका टिप्पणीमाथि प्रतिटिप्पणी गर्दै आएका मेयर शाह बुधबार बिहान बस्नेतको निवास गुन्डु पुगेका हुन् । शाहले काठमाडौंको टुकुचा र ठूला भवनका पार्किङ खुल्ला गर्ने क्रममा डोजर चलाउँदा एमाले नेता बस्नेतले उनीविरुद्ध कडा टिप्पणी गरेका थिए । मेयर शाह स्वेच्छाचारी ढंगले अघि बढेको भन्दै बस्नेतलगायत नेताहरुले उनलाई सम्हालिएर काम गर्न चेतावनी दिएका थिए ।

शाहले पार्किङ खुल्ला गर्ने क्रममा डोजर लगाउँदा बस्नेतले गरेको टिप्पणीमाथि जवाफ दिँदै ‘नियम पालन सबैले गर्नुपर्छ कमरेड‚ बरु हजुरको घरको नक्सा छ कि छैन’ भनेका थिए । बस्नेत निवासमा खाना खाएर फर्केका शाहले विगतका असमझदारी हटाएर सहकार्य गरेर अघि बढ्न बस्नेतसँग आग्रह गरेका थिए ।

नेता बस्नेतले राम्रा कामहरुमा आफूहरुको सँधै साथ रहने र सहकार्य समेत गर्ने प्रतिबद्धता जनाएको बताए । भक्तपुर पुगेका मेयर शाहले गुण्डु आसपासमा भएका विकास निर्माणका कामको पनि अवलोकन गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७