नागरिकमा उत्साह जगाउन भूमिका खेल्छु : नव निर्वाचित राष्ट्रपति पौडेल


२६ फाल्गुन २०७९, शुक्रबार
ramchandra 3

काठमाडौं । नव निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकमा उत्साह जगाउन राष्ट्राध्यक्षको हैसियतबाट आफूले भूमिका खेल्ने बताएका छन् ।

काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा रहेको बिपी सङ्ग्रहालयमा आज बिपी कोइरालालगायतका नेताको शालिकमा माल्यार्पणपछि आयोजित कार्यक्रममा नव निर्वाचित राष्ट्रपति पौडेलले जनतामा आशा र उत्साहको सञ्चार गरेर मुलुकमा नयाँ जागृति ल्याउनुपर्ने बताए ।

ramchandra 1

राजनैतिक स्थायित्व र मुलुकको सुशासनमा सबैको ध्यान जान आवश्यक रहेको उनले सुनाए । बिपी कोइराला लगायतका नेताप्रति सम्मान व्यक्त गर्दै नव निर्वाचित राष्ट्रपति पौडेलले जनताले प्राप्त गरेको अधिकारमाथि कसैले पनि खेलबाड गर्न नहुने र संविधानको संरक्षकको भूमिकामा रहेर आफूले त्यो भूमिका निर्वाह गर्ने बताए ।

नव निर्वाचित राष्ट्रपति पौडेलले जनतामा देखिएको निराशालाई आशामा परिणत गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, रामनारायण मिश्र, देवानसिंह राई र योगेन्द्र शेरचनको शालिकमा उनले माल्यार्पण गर्नुका साथै जकरण्ड नामको वृक्षरोपण गरेका थिए ।

त्यस अवसरमा नव निर्वाचित राष्ट्रपति पौडेललाई बिपी सङ्ग्रहालय समितिका अध्यक्ष परशुराम पोखरेल, वाग्मती प्रदेशसभा सदस्य विमल ठकुरीलगायत सङ्ग्रहालय समितिका पदाधिकारी र सदस्यले स्वागत गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७