मादी नदी नियन्त्रण : पहिलो ‘प्याकेज’ को काम सुरु


१ चैत्र २०७९, बुधबार
Tatabandha Tanahu scaled
फाइल फोटो

तनहुँ । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा तनहुँको मादी नदी नियन्त्रण कार्यक्रमअन्तर्गत पहिलो ‘प्याकेज’ को निर्माण सुरु भएको छ ।

अति जोखिम क्षेत्रमा रहेका व्यास नगरपालिका–६ को सिसाघाटदेखि चिन्तुटारसम्मको दूरीमा पहिलो प्याकेजको ग्याबिन बालसहितको बाँध निर्माण थालिएको हो । नदी नियन्त्रण कार्यका लागि दुई प्याकेजमा रु २८ करोड लागत अनुमान रहेकामा प्रदेश सरकारको रु १७ करोड विनियोजन गरेपछि निर्माण थालिएको हो ।

उक्त कार्यका लागि कम्पनी सिद्धान्त अमनले ठेक्का सम्झौता गरी काम सुरु गरेको जलस्रोत सिँचाइ विकास डिभिजन कार्यालय तनहुँका डिभिजन प्रमुख रमेशराज शर्माले जानकारी दिए । दोस्रो प्याकेजअन्तर्गत माथिल्लो भतेरीबाट तल्लो भतेरी हँुदै मादीपुलसम्म नयाँ ठेक्काबाट करिब चार सय मिटर दूरीमा ग्याबिन वालसहितको बाँध निर्माण गरिनेछ । दोस्रो प्याकेजको निर्माण कार्य पनि छिट्टै सुरु गर्ने गरी एमआर ग्रुपले ठेक्का सम्झौता गरेको उनले बताए ।

त्यसैगरी, गत वर्ष मादीनदीमा आएको बाढी कटान गरी जिल्लाको सदरमुकाम दमौली बजार उच्च जोखिममा परेपछि मादीनदी किनारमा ग्याबिन वालसहितको बाँध निर्माण गरिएको छ । पृथ्वीराजमार्ग सडक खण्डअन्तर्गत तनहुँको व्यास–३ स्थित मादीपुलदेखि मादीनदी किनारमा करिब दुई सय ५२ मिटर दूरीमा ग्याबिन वालसहितको बाँध निर्माण गरेको हो ।

यस आवको असार मसान्तभित्र सम्पन्न गर्ने गरी गत वर्ष एमआर गु्रप चितवनले निर्माणको जिम्मा पाएको हो । गण्डकी प्रदेश सरकारले रु दुई करोड ५० लाख बजेट विनियोजन गरेपछि निर्माण कार्य भइरहेको छ । निर्माण अन्तिम चरणमा पुग्दा पनि बजेट निकासामा ढिलाइ हुँदा हालसम्म रु २० लाख मात्रै भुक्तानी गर्न सकिएको उनले बताए । समुन्द्री सतहबाट चार मिटर उचाइको ‘ग्याबिन वाल’ लगाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७