सत्ता पक्षमा बस्ने र प्रधानमन्त्रीलाई विश्वासको मत दिएर सरकारमा जाने कांग्रेसको निर्णय


५ चैत्र २०७९, आईतवार
congress 1

काठमाडौं । नेपाली कांग्रेसले आज (आइतबार) को संसद बैठकदेखि सत्तापक्षमा बस्ने निर्णय गरेको छ । आज (आइतबार) बिहान बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने र सरकारमा पनि सहभागी हुने निर्णय गरिएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिएका छन् ।

कार्यसम्पादन समितिको बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा बसेको थियो । आजै मध्याह्न १२ बजे संसद् भवनकै ल्होत्से हलमा कांग्रेसको संसदीय दलको बैठक बस्ने छ । संसदीय दलको बैठकबाट यी निर्णय अनुमोदन गरिने छ ।

यसअघि संसदमा कांग्रेस र एमालेले प्रमुख प्रतिपक्षी दाबी गर्दा संसद बैठक प्रभावित भएको थियो । फागुन १७ गतेका लागि बोलाइएको संसद बैठकमा कांग्रेस र एमाले दुवैको प्रमुख विपक्षीको दाबी थियो । सरकारमा जाने निर्णय गरेर कांग्रेस सत्ता पक्षको बेञ्चमा बसेपछि एमालेलाई प्रमुख प्रतिपक्षीको बेन्चेमा बस्न बाटो खुला भएको छ ।

गत पुस २६ मा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिए पनि कांग्रेस प्रतिपक्षमै बसेको थियो । राष्ट्रपति निर्वाचनमा पुस १० को सत्ता समीकरणमा फेरबदल आएपछि एमाले विपक्षी कित्तामा पुगेको छ । प्रचण्ड नेतृत्वको सरकारबाट मन्त्री फिर्ता बोलाएर एमालेले समर्थन पनि फिर्ता लिइसकेको छ । आजै दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७