नागरिक स्वतन्त्रतासँग हरेक सरकार भयवित देखिन्छ : गगन थापा


९ चैत्र २०७९, बिहीबार
gagan

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जसको नेतृत्वमा सरकार बने पनि नागरिक स्वतन्त्रतालाई खुम्च्याउने प्रयास हुने गरेको बताएका छन् । उनले अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता पनि नागरिक स्वतन्त्रताकै पक्षहरू भएको भन्दै दलहरूले धारणा फेरे पनि सञ्चारमाध्यमहरूले सधैं यसको पक्षमा वकालत गर्न सक्नुपर्ने बताए ।

आज (बिहीबार) सामुदायिक रेडियो प्रसारक संघको १७ औं साधारणसभा तथा सामुदायिक रेडियोहरूको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले सामुदायिक रेडियोहरूले तीनै तहका सरकारले गरिरहेका कामलाई सूक्ष्म निगरानी गर्न सक्ने बताएका छन् ।

‘हामी लोकतन्त्रमा निर्वाचनलाई सुन्दर पक्ष मान्छौँ तर निर्वाचित भएको सरकारले के गरिरहेको छ भनेर निगरानी गर्ने कुरा महत्वपूर्ण हुन्छ,’ उनले भने, ‘सरकारले निरन्तर विधिको शासनको परिपालना गरिरहेको छ कि छैन ? संविधानले सरकारको पनि सीमाना तोकिएको छ, त्यहाँ बसिरहेको छ कि छैन ? सञ्चार क्षेत्रले त्यसको निगरानी गर्न सक्नुपर्छ ।’

उनले सरकारले अहिले नागरिकको मोबाइल फोन ट्यापिङ गर्न मिल्ने गरी कानुनको ड्राफ्ट गरिरहेको भन्ने सुनिएको भन्दै जुन सरकार आए पनि नागरिक स्वतन्त्रतालाई खुम्च्याउन मात्रै प्रयास गरिरहेको उनले बताए ।

‘नागरिकको आधारभूत स्वतन्त्रता जसलाई संविधानले तोकिदिएको छ, सरकारले त्यसलाई विस्तार गर्न सकिरहेको छैन । बरू जुन सरकार आए पनि नागरिक स्वतन्त्रताका सन्दर्भमा कुनै न कुनै मौका खोजिरहेको जस्तो देखिन्छ, नागरिकको स्वतन्त्रतासँग सरकार भयवित भएको जस्तो देखिन्छ ।

महामन्त्री थापाले अघि भने, ‘प्रतिपक्षमा हुँदा जसले नागरिक स्वतन्त्रताको वकालत गर्छ, ऊ आफैं सरकारमा जाने बित्तिकै त्यही विधेयक लिएर आउँछ, यस्तो बेलामा सञ्चारमाध्यमहरू चनाखो हुनुपर्छ । हामी बदलिरहन्छौँ, तपाईंहरू, सञ्चारमाध्यमहरू सधैं प्रतिपक्षी हो, तपाईंहरूले ख्याल गर्नुपर्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७