सातौँ संस्करणको विराट गोल्डकप आजदेखि, सिटी क्लव र नेपाल पुलिस भिड्दै


९ चैत्र २०७९, बिहीबार
Biratgoldcup 1679321618

मोरङ । सातौँ संस्करणको विराट गोल्डकप आजदेखि विराटनगरको शहीद रङ्गशालामा सुरु हुने भएको छ । प्रतियोगिता चैत १७ गतेसम्म सञ्चालन हुनेछ । आज हुने गोल्डकपको उद्घाटन खेलमा आयोजक घरेलुु टिम विराटनगर सिटी क्लब तथा नेपाल पुलिस क्लब भिड्दै छन् ।

प्रतियोगितामा नेपाल, भारत र भूटानका गरी गरी आठ वटा टोलीले सहभागिता जनाउने विराटनगर महानगरपालिकाका प्रमुख तथा गोल्डकपका संयोजक नागेश कोइरालाले जानकारी दिए ।

गोल्डकपको विजेता टिमले रु २० लाख १५ हजार तथा उपविजेता टोलीले रु १० लाख २५ हजारसहित पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा तीन विभागीय टोली एपीएफ, त्रिभुवन आर्मी र नेपाल प्रहरी तथा सङ्कटा, जाउलाखेल र घरेलु टिम विराटनगर सिटी एफसीको सहभागिता रहने प्रतियोगिताका सहसंयोजक सुवाशिष कोइरालाले जानकारी दिए ।

यस पटकको विराट गोल्डकपमा विधागत खेलाडीलाई जनही रु २५ हजार तथा प्लेयर अफ द म्याचलाई रु ११ हजार पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिता सम्पन्न गर्नका लागि रु दुई करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

तत्कालीन राजा महेन्द्रका नामबाट २०१८ सालमा महेन्द्र गोल्डकपबाट सुरू गरिएको प्रतियोगिता पछिल्लो संस्करणका रूपमा २०५७ सालदेखि विराट गोल्डकपका रूपमा खेलाइँदै आएको हो । पञ्चायतकालमा २७ पटक र बहुदल आएपछि विराट गोल्डकपका नामबाट सातौँ प्रतियोगिता हुन लागेको हो ।

पूर्वमा नेपाली फुटबलको सानका रूपमा रहेको विराट गोल्डकप प्रतियोगितामा सहभागी हुन दर्शकका लागि टिकट खरिद खुला गरिएको आयोजकले बताएको छ । टिकेटिङका लागि पार्टनर खल्ती एपसँग सम्झौता भएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७