मन्त्रिपरिषद विस्तार आज, नौं दल सरकारमा सहभागी हुँदै

को–को बन्दै छन् मन्त्री ?


१६ चैत्र २०७९, बिहीबार
Gathabandhan baluwatar

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज (बिहीबार) मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । १० दलीय सत्ता गठबन्धनमा मन्त्रालयको संख्यामा सहमति जुटेकाले आज मन्त्रिपरिषद् विस्तार गरिने भएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार अपराह्न बसेको बैठकले मन्त्रालय संख्याबारे सैद्धान्तिक सहमति जुटाएको थियो । जसपाका नेता राजेन्द्र श्रेष्ठले आज मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको बताएका छन् । उनले भने, ‘बिहीबार बेलुका शपथ हुनेछ, जनमोर्चा बाहेक सबै दल सरकारमा जाने छन् । ९ दल सरकारमा जाने सैद्धान्तिक रूपमा मन्त्रालय संख्या टुङ्गो लाग्यो ।’

कसले कुन मन्त्रालय लिने भन्ने थोरै गृहकार्य बाँकी रहेको उनको भनाइ छ । गठबन्धन बैठकमा कांग्रेसले ८ माओवादीले ५, एकीकृत समाजवादी र जसपा २–२ मन्त्रालय पाउने सहमति भएको छ । लोसपा, नागरिक उन्मुक्ति, जनमतले १–१ मन्त्रालय पाउने सहमति भएको छ ।

को–को बन्दै छन् मन्त्री ?
नेपाली कांग्रेसबाट उपप्रधानसहित रक्षा मन्त्रालयको जिम्मेवारी लिएर कांग्रेस उपसभापति पूर्णबहादुर खड्का सरकारमा सहभागी हुँदैछन् । कांग्रेसबाट अर्थमन्त्रीमा डा. प्रकाशसरण महत सरकारमा जाँदैछन् । यस्तै धनराज गुरुङ, सीता गुरुङ, प्रदीप पौडेल, रमेश रिजाल, एनपी साउद, दीपक गिरी पनि कांग्रेसका तर्फबाट सरकारमा मन्त्री बन्दै सहभागी हुने स्रोतले जानकारी दिएको छ ।

कांग्रेसबाट राजेन्द्र केसी, दीपक खड्का, अजय चौरसिया, रामहरी खतिवडाले पनि मन्त्रीका लागि जोडबल लगाइरहेका छन् । एमालेले छाडेका आठवटा मन्त्रालय कांग्रेसले लिने र भागबण्डा मिलाउनु पर्ने अवस्थामा केही मन्त्रालय हेरफेर गर्ने कांग्रेसको तयारी छ ।

त्यस्तै, नेकपा माओवादी केन्द्रले हाल सम्हाल्दै आएको एक मन्त्रालय छाडेर गृह लिनेछ । गृहमन्त्रीमा नारायणकाजी श्रेष्ठ जानेछन् भने अन्य मन्त्री यथावत रहने छन् ।

यस्तै एकीकृत समाजवादीबाट उपाध्यक्ष वेदुराम भुसाल र उपमहासचिव प्रकाश ज्वाला मन्त्री बन्दै छन् । उनीहरूको नाम बुधबार बसेको सचिवालय बैठकले मन्त्रीका लागि सिफारिस गरिसकेको छ । यस्तै, जनता समाजवादी पार्टीबाट दुई जना मन्त्री बन्दै छन् । जसपाबाट अशोक राईको नाम पक्का छ भने अर्का एक मन्त्रीमा राजकिशोर यादव या प्रदीप यादवमध्ये एक जना हुने जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७