थ्री स्टारले जित्यो खप्तड गोल्डकपको उपाधि


१९ चैत्र २०७९, आईतवार
khaptad goldcup

कैलाली । धनगढीमा जारी छैटौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि थ्री स्टार क्लबले जितेको छ । शनिबार भएको फाइनलमा अघिल्लो संस्करणको विजेता मनाङ मर्स्याङ्दी क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै थ्री स्टारले उपाधि जितेको हो । थ्री स्टारलाई उपाधि दिलाउन विक्रम लामा र अनिल महर्जनले गोल गरे ।

खेलको ७३ औँ मिनेटमा अनिल महर्जनले फ्रि किकमार्फत थ्री स्टारलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको इन्जुरी समयमा विक्रम लामाले हेड गोल गर्दै थ्री स्टारको जित सुनिश्चित गरे । फाइनल खेलको ‘एसपीए म्यान अफ दि म्याच’ थ्री स्टारका अनिल महर्जन चुनिए । उनले रु १० हजार पुरस्कार पाए । उपाधिसँग थ्री स्टारले रु २१ लाख प्राप्त गरेको छ । उपविजेता बनेको मनाङले रु १० लाख पाएको छ । विधागत तर्फको पुरस्कारमा थ्री स्टारको वर्चश्व रह्यो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी थ्री स्टारका कप्तान विक्रम लामा बने । उनले नगद रु एक लाख पुरस्कार पाए । उत्कृष्ट गोलरक्षक थ्री स्टारका मोहम्मद ताहा रहे । उत्कृट डिफेण्डर थ्री स्टारका पिटर सेगुन, उत्कृष्ट प्रशिक्षक थ्री स्टारका मेघराज केसी रहे ।

उत्कृष्ट मिडफिल्डर मनाङका विशन गुरुङ र सर्वाधिक गोलकर्ता मनाङका सायीजमल घोषित भए । विधागत तर्फका उत्कृष्टले जनही रु १५ हजार प्राप्त गरे । सुदूरपश्चिम–११ का दीपेन्द्र मलासी उदयमान खेलाडी चुनिए । उनले रु २५ हजार पुरस्कार प्राप्त गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७