वैद्य र बास्तोलाको पार्टीबीच एकता घोषणा


२४ चैत्र २०७९, शुक्रबार
ma 1

काठमाडौँ । मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) बीच पार्टी एकता भएको छ । आज (शुक्रबार) एक कार्यक्रमका बीच दुई पूर्व माओवादी घटक दलबीच एकता भएको हो । पार्टी एकताको औपचारिक घोषणा अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा आउँदो मे १ मा हुने नेकपा बहुमतका नेता हेमन्तप्रकाश वलीले जानकारी दिएका छन् ।

कुनै समय तत्कालीन नेकपा माओवादीमा सँगै रहेका वैद्य र बास्तोला पुनः एक ठाउँमा आएका हुन् । दुई दलले गत साउनमै पार्टी एकीकरण गर्ने सहमति गरेका थिए । पार्टी एकीकरणका लागि दुवै पार्टीबाट ६–६ जना गरी १२ जनाको संयोजन समिति बनाइएको थियो । समितिमा क्रान्तिकारी माओवादीका तर्फबाट महासचिव वैद्यसहित सीपी गजुरेल, हरिभक्त कँडेल, परी थापा, इन्द्रमोहन सिग्देल र रामसिंह श्रीश रहेका थिए भने नेकपा बहुमतबाट संयोजक बास्तोलासहित हेमन्तप्रकाश वली, दीपक चलाउने, गुणराज लोहनी, कृष्ण धमला र देवकला अधिकारी सदस्य थिए ।

पहिलो संविधानसभा चुनावमा सबैभन्दा ठूलो शक्तिका रूपमा उदाएको तत्कालीन नेकपा माओवादी विभिन्न फुटको शृखंलाबाट गुज्रिएको छ । पहिलो पटक वैद्य समूह २०६९ साल असार ४ मा विभाजित भएको थियो । शान्ति र संविधानको बाटो कि जनविद्रोहमा जाने भन्ने विषयले माओवादीमा विभाजन शृंखला सुरु भएको थियो ।

त्यसपछि २०७२ असोज ३ गते संविधान जारी भए लगत्तै बाबुराम भट्टराईले माओवादी छाड्दै नयाँ शक्ति गठन गरे । त्यसपछि रामबहादुर थापा, देव गुरुङ, पम्फा भुसाल, मातृका यादवलगायतका नेता पार्टीमा फर्किए । तीमध्ये थापाबाहेक अरु नेता माओवादी केन्द्रमै छन् । थापा भने नेकपा एमालेमा रहेका छन् । वैद्य समूहमा पनि पटक–पटक विभाजन भयो ।

वैद्य समूहबाट नेत्रविक्रम चन्दलगायतका प्रभावशाली नेताहरू छुट्टिएर नेकपा गठन गरेका थिए । केही समय भूमिगत भएर हिंसात्मक गतिविधि मच्चाएको उक्त समूह सरकारसँगको शान्ति प्रक्रियामा आएपछि पुनः विभाजित भयो । चन्द संसद्वादमा फसेको भन्दै असन्तुष्ट पक्षका नेताहरूले नयाँ पार्टी गठन गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७