पर्यटकको रोजाइमा बङ्गलाचुली भ्युटावर


२५ चैत्र २०७९, शनिबार
bangala

दाङ । दाङको बङ्गलाचुली गाउँपालिकामा बनाइएको भ्युटावर पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । जिल्लाको उक्त विकट ठाउँ भ्युटावरका कारण चिनिन थालेको छ । घोराही–१५ की सृजना वली पहिलो पटक बङ्गलाचुली घुम्न पुगिन् । उनले भनिन्, ‘बङ्गलाचुली घुम्न आउँदा मन प्रफुल्लित भयो । घुम्न अन्य जिल्ला जान्छौँ । तर आफ्नै गाउँठाउँका पर्यटकीयस्थललाई प्राथमिकता दिँदैनाैं ।’

तुलसीपुर–१७ की अनिता शर्मा पनि पहिलो पटक बङ्गलाचुली घुम्न आइन् । उनले भनिन्, ‘यहाँ न गर्मी छ न जाडो, ठिक्कको मौसम छ ।’ भ्युटावरबाट दाङका साथै छिमेकी जिल्ला प्यूठानका विभिन्न ठाउँका मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । यहाँसम्म पुग्न सडक कालोपत्र गनुपर्ने शर्मा बताउँछिन् ।

बङ्गलाचुलीमा भ्युटावर, नाचघरलगायत संरचना निर्माणका लागि रु दुई करोड २९ लाख खर्च भएको बङ्गलाचुली गाउँपालिकाका पूर्व अध्यक्ष भक्तबहादुर वलीले जानकारी दिए । प्रदेश सरकारअन्तर्गत जिल्ला डिभिजन वन कार्यालयमार्फत आर्थिक वर्ष २०७६/७७ मा रु ५० लाख र आव २०७७/७८ मा रु २० लाख, पर्यटन बोर्ड भैरहवामार्फत रु पाँच लाख तथा गाउँपालिकाको रु ४५ लाख खर्च भएको छ ।

बङ्गलाचुली उद्यान र भ्युटावरलाई व्यवस्थित गर्दै यसलाई आयआर्जनसँग जोड्ने योजना अघि बढाउन आवश्यक छ । बजेट अभावका कारण आवश्यक संरचना निर्माण गर्न नसकिएको बङ्गलाचुली गाउँपालिकाका अध्यक्ष तुलसीराम पुनको भनाइ छ । ‘सहर बजारको कोलाहलबाट मुक्त पाउन आन्तरिक पर्यटक यहाँ आउने गरेका छन्’, उनले भने ।

स्थानीय तहमा निर्माण गरिएका पर्यटकीय संरचना संरक्षण र व्यवस्थित गर्न सङ्घ र प्रदेश सरकारकको सहयोग आवश्यक रहेको पुन बताउँछन् । बङ्गलाचुली लेकबाट कञ्चनजङ्गा, धौलागिरि, माछापुच्छ्रेलगायतका हिमशृङ्खला देख्न सकिन्छ । चिसो हावापानी, स्वच्छ वातावरण, वरपर देखिने अग्ला पहाडले पर्यटकको मनै लोभ्याउने गर्छ ।

दाङ सदरमुकाम घोराही उपमहानगरपालिकाको ट्राफिक चोकदेखि ३० किलोमिटर दूरीको यात्रा गरेपछि बङ्गलाचुली गाउँपालिका–५ मुर्कुटी बजार पुगिन्छ । मुर्कुटी बजारबाट दुई किलोमिटर कच्ची बाटो पार गरेपछि बङ्गलाचुली लेक अर्थात् बङ्गाचुली भ्युटावर पुग्न सकिन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७