हुथी विद्रोहीसँग वार्ता गर्न साउदी टोली यमनमा


२७ चैत्र २०७९, सोमबार
Houthe 7ZAs1XrpUK

काठमाडौँ । इरानसमर्थित हुथी लडाकू समूहसँग युद्धविराम वार्ता गर्न साउदी अरबको एक प्रतिनिधिमण्डल यमनको राजधानीमा शनिबार साँझ आइपुगेको हुथीद्वारा सञ्चालित अल–मसिराह टीभीले आइतबार जनाएको छ ।

युद्धविराम सम्झौता नवीकरण गर्ने विषयमा छलफल गर्न साउदी प्रतिनिधिमण्डल ओमानी अधिकारीसहित हुथीको राजनीतिक परिषद्का अध्यक्ष महदी अल–मशातसँग भेटवार्ता गर्न आएको समाचारमा उल्लेख छ । उक्त सम्झौता सन् २०२२ को अक्टोबरमा समाप्त भएको थियो ।

‘यमनमा शान्ति स्थापनाका लागि ओमानको मध्यस्थता प्रयासको एक हिस्साको रूपमा यो कदम चालिएको हो’, विज्ञप्तिमा लेखिएको छ । यमन र साउदी दुवैसँग सीमा जोडिएको ओमान संयुक्त राष्ट्रसंघको शान्ति प्रयाससँग समन्वय गरी यमनमा युद्धविरामका लागि लागिपरेको छ ।

यमनी सुरा परिषद्का सदस्य तथा हुथी समूहका प्रमुख नेता मोहम्मद अल बुखैतीले सिन्ह्वालाई बताएअनुसार यमनका लागि साउदी राजदूत मोहम्मद अल जाबेर प्रतिनिधिमण्डल प्रमुखका रूपमा शनिबार यमनको राजधानी आइपुगेका हुन् । हुथी समूहले शनिबार पनि साउदीले रिहा गरेका १३ जना युद्धबन्दीलाई साउदी कैदीको बदलामा प्राप्त गरेको बताएको थियो ।

विशेष गरी साउदी अरब र इरानबीच तनाव कम गर्न र कूटनीतिक सम्बन्ध पुनः स्थापित गर्न हालैका चिनियाँ प्रयासहरू पछि यमनमा युद्ध अन्त्यका लागि शान्ति प्रयासहरू बढ्दै गएका छन् । यमनमा सन् २०१४ को अन्त्यतिर हुथी लडाकू समूहले उत्तरी क्षेत्रका धेरै सहर आफ्नो नियन्त्रणमा लिएको थियो । यससँगै साउदीसमर्थित यमन सरकारलाई राजधानी सानाबाट बाहिर निकाल्न बाध्य पारेपछि यमनमा द्वन्द्वले उत्कर्ष रूप लिएको थियो ।

साउदी नेतृत्वको गठबन्धनले सन् २०१५ मा यमन सरकारलाई समर्थन गर्न यमनमा हस्तक्षेप गरेको थियो । यस युद्धले १० औंं हजार जनाको ज्यान लिइसकेको छ । ४० लाख व्यक्ति विस्थापित भएका छन् । युद्धले देशलाई भोकमरीको संघारमा पु¥याएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७