एसीसी प्रिमियर कप : नेपालले पहिले बलिङ गर्ने

ज्ञानेन्द्र मल्ल, करण केसी र प्रतिश जि.सी बेञ्जमा


५ बैशाख २०८०, मंगलवार
thumb 6

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत आज (मंगलबार) त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र मलेसियाबीचको खेलमा मलेसियाले टस जितेर पहिले ब्याटिङ रोजेको छ । टस जितेर मलेसियाका क्याप्टेन हमद फैजले पहिले ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्न लागेको हो ।

खेलमा नेपाल विजयी सुरुआतको लक्ष्यमा छ । टस हारेपछि पहिलो खेलमा मलेसियाविरुद्ध नेपालले फिल्डिङ गर्ने निम्तो पाएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिताका लागि १४ सदस्यीय राष्ट्रिय क्रिकेट टिम घोषणा गरिसकेको छ ।

cricket

रोहित पौडेलको कप्तानीमा आइतबार घोषित टिममा कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी र ललित राजवंशी छन् ।
यस्तै, अर्जुन साउद, सन्दीप जोरा, सूर्य तामाङ र किशोर महतोलाई वैकल्पिक राखेको छ । आजको खेलमा ज्ञानेन्द्र मल्ल, करण केसी र प्रतिश जि.सी बेञ्जमा रहेका छन् । आजै मूलपानी क्रिकेट मैदानमा हुने खेलमा हङकङ र सिंगापुरबीच प्रतिस्पर्धा हुँदैछ ।

यस प्रतियोगितामा १० राष्ट्र सम्मिलित छन् । १० टिमलाई दुई समूहमा विभाजन गरेर खेलाइनेछ । समूह ‘ए’ मा आयोजक नेपालसहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान छन् । समूह बी मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र युएई रहेका छन् । हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोलीले सेमिफाइनल खेल्नेछन् । फाइनल जित्ने टिम एसिया कपका लागि छनोट हुनेछ ।

कुल २४ खेल हुने प्रतियोगिताको फाइनल खेल वैशाख १८ गते कीर्तिपुरमा हुनेछ । विश्वकप लिग २ मा नेपालले गत दुई महिनामा खेलेको १२ मध्ये ११ खेल जितेर विश्वकप छनोटमा पुगेको थियो । त्यसमध्ये घरेलु मैदानमा खेलेका सबै ८ खेल जितेकाले पनि नेपाललाई प्रिमियर कपको बलियो दाबेदारका रूपमा हेरिएको छ । तर, नेपालसँगै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त ओमान र यूएई पनि एसिया कपमा पुग्नका लागि बलियो चुनौती दिने हकदार टोली हुन् ।

सन् १९९६ मा सुरु भएको एसीसी ट्रफीदेखि नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै आएको छ । प्रिमियर कपअघिको प्रतियोगिता हो एसीसी ट्रफी । तर नेपालले एसीसी ट्रफीबाट कहिल्यै एसिया कपमा पुग्न सकेन । एसिया कप खेल्ने सपना पूरा गर्न यस पटक नेपालसामु हात राम्रैसँग खोल्ने उपयुक्त अवसर आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७