आयोगले भन्यो : निर्वाचन प्रचारप्रसारमा हेलिकोप्टरको प्रयोग नगर्नू

मतदाता परिचयपत्र, नागरिकता वा परिचयपत्रबाट पनि मतदान गर्न पाइने


५ बैशाख २०८०, मंगलवार
nirbachan aayog

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनको प्रचारमा हेलिकोप्टरको प्रयोग नगर्न निर्देशन दिएको छ । आयोगका उपन्यायाधिवक्ता तथा सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेले विज्ञप्ति जारी गर्दै यातायातमार्फत नै प्रचार गर्न सकिने भन्दै उमेदवार र दलका नेता कार्यकर्तालाई हेलिकोप्टर प्रयोग नगर्न निर्देशन दिएका हुन् ।

‘निकट भविष्यमा उपनिर्वाचन हुन गइरहेका उल्लेखित जिल्लाहरूमा निर्वाचन आचारसंहिता बमोजिम हेलिकोप्टर प्रयोग नगरी प्रचारप्रसार गर्न सकिने अवधि पर्याप्त रहेको साथै उक्त जिल्लाहरूमा यातायातको सहज पहुँच समेत रहेको छ ’, विज्ञप्तिमा भनिएको छ, ‘यसरी यातायातको सहज पहुँच रहेका स्थानमा राजनीतिक दलका नेता तथा उम्मेदवारहरुले निर्वाचन प्रचारप्रसारको लागि हेलिकोप्टर प्रयोग गर्नु मितव्ययिताको सिद्धान्त समेतको प्रतिकूल हुन जाने भएकोले संवत् २०८० साल बैशाख १० गते हुने उपनिर्वाचनमा उमेदवार, दलका नेतातथा कुनै पनि प्रचारकले हेलिकोप्टर सेवा प्रयोग नगर्नु हुन सूचित गरिन्छ ।’

यस्तै आयोगले निर्वाचन आचारसंहिताको पूर्ण कार्यान्वयका लागि सरकारी निकाय तथा निजी हेलिकोप्टर सेवा प्रदायकलाई आयोगको सहमति बिना सेवा उपलब्ध नगराउन जानकारी गराएको छ । वैशाख १० गते बारा–२, चितवन–२ र तनहुँ–१ मा उपनिर्वाचन हुँदैछ ।
मतदाता परिचयपत्र, नागरिकता वा परिचयपत्रबाट पनि मतदान गर्न पाइने
निर्वाचन आयोगले यही वैशाख १० गते आइतबार हुने उपनिर्वाचनमा मतदाता परिचयपत्र वा अन्य सरकारी परिचयपत्रका आधारमा पनि मतदान गर्न पाउने निर्णय गरेको छ ।

बारा निर्वाचन क्षेत्र नं २, चितवन निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको लागि आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाण पुर्जा वा सवारी अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाइ यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई आयोगले निर्देशन दिने निर्णय गरेको हो ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आज विज्ञप्ति जारी गरी निर्वाचनको सन्दर्भमा आयोगबाट मतदातालाई परिचयपत्र वितरण भएको भए पनि कतिपय मतदाताको परिचयपत्र हराएको-नासिएको अवस्था भएमा उल्लेखित परिचयपत्रको आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७