होल्डिङ सेन्टरको विकल्प खोज्न सुझाव


६ बैशाख २०८०, बुधबार
holding centre scaled
फाइल फोटो

बाँके । कोभिड–१९ को महामारीका क्रममा नेपालगञ्ज सीमा नाकामा निर्माण गरिएको होल्डिङ सेन्टर प्रयोगमा नआएपछि स्थानीय प्रशासनले त्यसको विकल्प खोजेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले होल्डिङ सेन्टर प्रयोगका लागि नेपाल सरकार रक्षा मन्त्रालयलाई तीन विकल्पसहितको सुझाव पठाएको छ ।

तीन सदस्यीय अध्ययन कार्यदल बनाएर सुझाव सङ्कलन गरेको स्थानीय प्रशासनले त्यसका लागि प्राप्त सुझावका आधारमा मन्त्रालयसमक्ष तीन वटा विकल्प प्रस्ताव गरेको हो । ‘हामीलाई रक्षा मन्त्रालयले यो विषयमा के–के गर्न सकिन्छ हेरेर प्रतिवेदन पेस गर्नु भनेको थियो त्यसका आधारमा तीनवटा विकल्प पठाएका छौँ’, होल्डिङ सेन्टर प्रयोगका लागि मन्त्रालयलाई पठाइएको प्रस्तावबारे बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले भने, ‘देशभरिका सन्दर्भमा पनि मन्त्रालयले काम गरिरहेकाले निर्णयका लागि सजिलो हुने गरी सबै प्राप्त सुझावलाई विकल्पका रूपमा पठाएका छौँ ।’

स्थानीय प्रशासनले बहुउपयोगी एकीकृत पुनःस्थापना केन्द्रको सम्भावना औँल्याएको छ । ‘जसमा लागुऔषध दुव्र्यसनी, स्पाइनल कर्ड इन्जुरी, कु्ष्ठरोग यस्ता खालको पुनःस्थापना केन्द्र चलाउन सकियो भने एकै ठाउँमा धेरैलाई सेवा दिन सकिन्छ’, प्रजिअ आचार्यले भने । तीन सदस्यीय अध्ययन कार्यदलले सङ्कलन गरेको सुझावका आधारमा कतिपयले अस्पतालका रूपमा उपयोग गर्न सुझाव दिएका छन् ।

यहाँस्थित भेरी अस्पतालको नयाँ भवन निर्माणाधीन रहेकाले वैकल्पिक अस्पताल भवनका रूपमा उक्त संरचना प्रस्ताव गरिएको छ । प्रजिअ आचार्यले भने, ‘होल्डिङ सेन्टर प्रयोगका लागि स्थानीय तहको वा अस्पतालकै रूपमा चलाउने भन्ने विषयमा पनि छलफल भएको हो ।’

विपद्का बेलामा स्थानीय तहका बाढीपीडितलाई राख्न सकिनेलगायतका विषयमा छलफल भएका छन् । अर्काे विकल्पका रूपमा निजी क्षेत्रका लागि निश्चित समयका लागि ठेक्कामा दिन सकिन्छ कि भन्ने विषयमा पनि छलफल भएको प्रजिअ आचार्यले बताए । प्रजिअ आचार्यले विभिन्न तीन–चारवटा विषयमा उपयोगका सम्भावनामा छलफल भएको जानकारी दिँदै भने, ‘तीनवटा विकल्प दिएका छौँ, अन्तिम निर्णय गर्ने जिम्मा रक्षा मन्त्रालयलाई भएकाले केही उपयोगको निर्णय गर्ला ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७