कर्णालीमा मन्त्री बन्न कांग्रेसभित्र हानथाप, रोकियो शपथ


६ बैशाख २०८०, बुधबार
karnali 3 mantri

सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसभित्र को मन्त्री बन्ने भन्ने विषयले लफडा भएको छ । जसका कारण नेपाली कांग्रेसबाट सरकारमा सहभागी तीन मन्त्रीको आज हुने भनिएको शपथ समेत रोकिएको छ ।

सिनियर नेताको नाम सिफारिस नगरिएको भन्दै कांग्रेस कर्णालीमाा असन्तुष्टि देखिएपछि बुधबार ३ बजे हुने भनिएको मन्त्रीहरुको शपथ अन्यौल बनेको हो । मंगलवार कांग्रेसले तीन जना मन्त्रीको नाम मुख्यमन्त्री राजकुमार शर्मा समक्ष सिफारिस गरेको थियो । तर, सिनियर नेताहरुलाई बाइपास गरिएको र समावेशीतालाई ध्यान नदिएको भन्दै नेताहरुले केन्द्रमा असन्तुष्टि जनाएका थिए ।

त्यसपछि पार्टी सभापति शेरबहादुर देउवाको सचिवालयमार्फत मुख्यमन्त्री शर्मालाई शपथ रोक्न दबाब आएको कांग्रेस स्रोतले दाबी गरेको छ । जाजरकोटका प्रदेशसभा सदस्य राजिवविक्रम शाह, सुर्खेतकी जानकी सिंहलगायतका नेताहरुले मन्त्री सिफारिसमा असन्तुष्टि जनाएको बुझिएको छ ।

कांग्रेसले मंगलवार सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ ‘क’ बाट निर्वाचित सांसद खड्कबहादुर पोखरेललाई सामाजिक विकासमन्त्री, जाजरकोट प्रेदशसभा ‘क’ बाट निर्वाचित बेदराज सिंहलाई आर्थिक मामिला तथा योजना र दैलेख क्षेत्र नम्बर १ ‘ख’ बाट निर्वाचित सांसद कृष्णकुमार बिसीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारीसहित सरकारमा पठाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७