चौपायाको आहाराका लागि विकल्प खोज्दै नगरपालिका


७ बैशाख २०८०, बिहीबार
cow gaushala tikapur 1 scaled
फाइल फोटो

कैलाली । गौशालामा व्यवस्थापन गरिएका चौपायालाई आहाराको समस्या हुन थालेपछि कैलालीको भजनी नगरपालिकाले विकल्प खोज्न थालेको छ । गर्मी मौसम सुरु भएपछि चरन क्षेत्र उजाड भएपछि त्यसको विकल्पका लागि नगरपालिकाले सामुदायिक वनसँग समन्वय गर्न थालेको हो । नगरपालिकाले सामुदायिक वनका प्रतिनिधि र चौपाया व्यवस्थापन समितिलाई सँगै राखेर छलफल चलाएको छ ।

छलफलमा सामुदायिक वनको सीमित क्षेत्र केही समयका लागि खुला गर्न नगर प्रमुख केवल चौधरीले आग्रह गरे । उनले व्यवस्थापन भएका चौपाया छोड्दा किसानले लगाएको अन्न बाली नष्ट गर्नुका साथै पुरानै समस्या बल्झिने भन्दै सामुदायिक वनलाई सीमित क्षेत्रमा चौपायालाई चरिचरनका लागि खुला गरिदिन भनेका हुन् ।

‘चौपाया पनि भोकले मर्ने स्थिति आउनु भएन । किसानले पनि पुरानो समस्याबाट पुनः सास्ती पाउनु भएन । त्यसका लागि सामुदायिक वनले केही समयका लागि चौपायाको चरिचरनको क्षेत्र छुट्याएर सहयोग गरिदिनुपर्‍यो’, नगर प्रमुख चौधरी भन्छन्, ‘समस्या उब्जाउने भन्दा समाधानको विकल्प खोज्दा राम्रो हुन्छ । चौपाया व्यवस्थापन भएकै कारण किसानले लगाएको अन्न बाली भित्र्याउन पाएका छन् ।’

उनले आगामी दिनमा सामुदायिक वनको केही भागमा घाँस लगाउने वातावरणमा पनि सहजीकरण गरिदिन सामुदायिक वनका पदाधिकारीलाई आग्रह गरे । ‘सधैं नगरपालिकाले पैसा दिएर चौपाया व्यवस्थापन गर्न सकिने स्थिति छैन र सकिँदैन पनि । सामुदायिक वनमा घाँस रोपेर त्यहीँ घाँसबाट चौपायाको आहारा पूरा गर्नुपर्ने देखिन्छ’, नगर प्रमुख चौधरीले भने, ‘नभए एक गाई एक घरको अभियान सञ्चालन गरेर भएका चौपाया व्यवस्थापन गर्नुपर्छ । त्यसमा सरोकारवाला पहिले जिम्मेवार हुनुपर्‍यो ।’ चौपायालाई व्यवसायसँग जोडेर काम गर्ने योजनाका साथ स्थानीयलाई आउन पनि उनले आग्रह गरेका छन् ।

महुन्याल सामुदायिक पशु चौपाया व्यवस्थापन समितिका अध्यक्ष देशराम चौधरीले आहाराको अभाव र चौपायालाई पानीको समस्या भएको बताए । भएको पराललगायतका स्रोत सकिएपछि चरनका लागि नगरपालिकालाई सामुदायिक वनसँग समन्वय गरेर वनको सीमित क्षेत्र खुला गरिदिन आग्रह गरिएको चौधरीले बताए । ‘नगरपालिकालाई आग्रह गरेका थियौँ, त्यो आग्रहअनुसार सामुदायिक वनसँग छलफल भएको हो’, अध्यक्ष चौधरी भन्छन्, ‘चौपायालाई पानीको पनि समस्या भएको छ । पानीको व्यवस्था र चरनका लागि वनको अनुमति मात्रै दिए पनि चौपायालाई बचाउन सकिन्छ ।’

सामुदायिक वनका पदाधिकारीले भने एकाएक कुनै निर्णय गर्न नसकिने बताएका छन् । पशुपति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भीमबहादुर चौधरीले सामुदायिक वनका अन्य पदाधिकारीसँग छलफल गरेर निर्णयमा पुग्न सकिने सकिने बताए । ‘अहिलेसम्म त्यसरी वनमा कसैलाई चरिचरनका लागि अनुमति दिएका छैनौँ । दिनुपर्ने स्थितिमा समितिमा छलफल गरेर निर्णयमा पुग्न सकिन्छ’, अध्यक्ष भीमबहादुरले भने, ‘आवश्यकता हो भने दिनु पनि पर्छ । भोकभोकै कसैलाई मार्नु त भएन ।’

आहाराको समस्या देखाएर चौपाया छोड्ने डरमा किसान देखिएका छन् । भर्खरै किसानले भजनीका अधिकांश क्षेत्रमा चैते धान लगाएका छन् । चौपाया छाडा छोडे लगाएको धान तथा मकै खेती नष्ट गर्ने भन्ने चिन्ता बढेको किसान बुद्धिराम चौधरी बताउँछन् । ‘चौपाया व्यवस्थापन हुँदा निकै राहत भएको छ । रातदिन खेत कुर्नुपर्ने अवस्थाको अन्त्य भएको छ । किसान ढुक्कले सुत्न पाएका छन्’, बुद्धिरामले भने, ‘चौपाया व्यवस्थापनको समस्या अहिलेकै अवस्थामा समाधान हुनुपर्छ । छोडेर होइन त्यसको विकल्प खोजेर आहाराको खोजी गरिनुपर्छ ।’

चौपाया व्यवस्थापन गरिएका गौशालामा चौपाया भोकले मर्न थालेपछि चौतर्फी स्थानीय सरकारको आलोचना हुँदै आएको छ । यसअघि कैलालीकै टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा पनि चौपाया खान नपाएर गौशालामा मर्न थालेपछि आसपासका क्षेत्र दुर्गन्धित बनेका थिए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७