बेलझुण्डी रङ्गशाला निर्माण भएको तीन वर्ष बित्दा पनि भएन हस्तान्तरण


९ बैशाख २०८०, शनिबार
beljhundi

दाङ । दाङमा बहुउद्देश्यीय रङ्गशाला निर्माण भए पनि हस्तान्तरण हुन सकेका छैनन् । दाङ तुलसीपुर–१७ बेलझुण्डीस्थित रङ्गशाला निर्माण भएको तीन वर्ष हुँदा पनि हस्तान्तरण गरिएको छैन ।

एथ्लेटिक्स र फुटबल रङ्गशाला निर्माण भएको लामो समय भए पनि हस्तान्तरण हुन नसकेको जिल्ला खेलकुद विकास समितिका प्रमुख शान्ति सोमैले जानकारी दिए । ‘रङ्गशाला निर्माण भएको २०७६ सालमा हो’, उनले भने, ‘तर, किन हो, अझै हस्तान्तरण भएको छैन ।’

अन्तर्राष्ट्रियस्तरको उक्त रङ्गशालामा आठौँ राष्ट्रिय फुटबल तथा एथ्लेटिक्स प्रतियोगिता सम्पन्न भएका थिए । हस्तान्तरण नहुँदा आफूहरुलाई संरक्षणमा समस्या हुने गरेको उनको भनाइ छ । अहिले जसोतसो संरक्षण गरेको भए पनि पूर्ण अधिकार नहुँदा गाह्रो भएको उनको भनाइ छ । उक्त रङ्गशाला निर्माण गरेको ठेकेदारले कर्णालीमा हुने १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको रङ्गशाला निर्माण गरिरहेको छ ।

राष्ट्रिय खेलकुद परिषद् तथा प्रदेशस्तरको खेलकुद परिषद् कसले रङ्गशालाको संरक्षण र मातहतमा रहने विषय नटुङ्गिएपछि हस्तान्तरणमा समस्या भएको परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले जानकारी दिए । कानुन अभावमा यस्तो समस्या देखिएको हो । रु २४ करोड २४ लाख लागतमा उक्त रङ्गशाला निर्माण भएको हो । दिवा एमए प्रतिष्ठा जेभीले भिआइपी प्याराफिटसहित रङ्गशाला निर्माण गरेको हो ।

रङ्गशालामा भिआइपी प्याराफिट, बाथरुम, बिजुली र रङरोगनसमेत गरिएको छ । रङ्गशालामा फुटबल मैदानका साथै सेन्थेटिक ट्रयाक पनि निर्माण गरिएको छ । जुन मोफसलमा पहिलो हो । त्यहाँ ‘भिआइपी’ प्याराफिटभित्र खेलाडीका लागि चेञ्जिङ रुम, अफिस, कन्फ्रेन्स हल, रेफ्रीका लागि छुट्टै कोठा निर्माण गरिएको छ । रङ्गशालाको पश्चिमतर्फ निर्माण गरिएको भिआइपी प्याराफिटमा चार सय १२ सिट छन् । रङ्गशालाको पूर्वी भागमा दर्शकका लागि साधारण प्याराफिट निर्माण गरिएको छ ।

भिआइपी प्याराफिटका लागि आवश्यक धातु तथा दर्शक बस्ने सिट मलेसियाबाट ल्याइएको हो । रङ्गशालामा प्रयोग गरिएका तारबारसमेत विदेशबाटै ल्याइएको हो । फिफा मापदण्डअनुसार निर्माण गरिएको फुटबल मैदानमा बरमुडा दुबो रोपिएको छ । यो दुबो भारतको कोलकताबाट ल्याएर रोपिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७