प्रधानमन्त्रीले नै अराजक गतिविधिलाई प्रोत्साहन गरे : राजन भट्टराई


१४ बैशाख २०८०, बिहीबार
rajan bhattarai 63ZFwal63m

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले देशको शान्ति सुरक्षामा देखापरेको चुनौतीका विषयमा सरकारको ध्यानाकर्षण गराएको छ ।

एमालेले आज (बिहीबार) गृह मन्त्रालय पुगेर उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई देशको शान्ति सुरक्षामा देखापरेको चुनौतीका विषयमा ध्यानाकर्षण गराएको हो । गृहमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओली शान्तिपूर्ण गतिविधिमा संलग्न हुँदा समेत आक्रमण भएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएको जानकारी दिए । उनले देशको सबैभन्दा ठूलो पार्टीको शीर्ष नेता आफ्नो जिल्लामा जाँदा भएको आक्रमणले देशको शान्ति सुरक्षा कस्तो छ भन्ने स्पष्ट पारेको बताए ।

उनले भने, ‘शान्ति सुरक्षामा देखापरेको अत्यन्त गम्भीर चुनौतीको बारेमा उपप्रधान एवम् गृहमन्त्री ज्यूलाई ध्यानाकर्षण गराएका छौँ । हाम्रो पार्टीको अध्यक्ष शान्तिपूर्ण गतिविधिमा संलग्न हुँदा, यो देशको सबैभन्दा ठूलो पार्टीका शीर्ष नेता आफ्नो जिल्लामा जाँदा जुन किसिमको अवस्था सिर्जना भयो, त्यो हर्कत देखाउने कुरामा हामीले गम्भीर आपत्ति जनाएका छौँ, त्यसमा सहभागीहरूलाई छिटो भन्दा छिटो कानुनी दायरामा ल्याएर कारबाही गर्नुपर्छ भन्ने हाम्रो भनाइ छ । देशकै ठूलो पार्टीका शीर्ष नेता पनि असुरक्षित हुनुहुन्छ भने यहाँ सरकार छ कि छैन ? सरकारले के गर्छ ? यो गठबन्धन सरकार असफल भएको छ ।’

हिजो बुधवार झापामा एमाले अध्यक्ष ओली सहभागी कार्यक्रममा कोशी नामकरणको विपक्षमा रहेका समूहले हुलहुज्जत गरेका थिए । नेता भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै अराजक गतिविधि गर्नेहरुलाई प्रोत्साहित गरेको आरोप लगाए । उनले प्रदेश नामाकरण कानुनी रूपबाट टुङ्ग्याइसकेको विषयमा प्रधानमन्त्रीले ठिक रहेनछ भन्नु अराजकतालाई प्रश्रय दिनु रहेको जिकिर गरे ।

नेता भट्टराईले गएको वैशाख ७ गते दिन दहाडै कपनको सरस्वती नगरमा व्यवसाय गरेर बसेकी निरा आचार्यको हत्या भएको आठ दिन बितिसक्दा समेत पत्ता नलागेको विषयमा पनि गृहमन्त्रीको ध्यानाकर्षण गराएको बताए । वर्तमान गठबन्धन सरकारले आफ्ना न्यूनतम कर्तव्य पनि पूरा गर्न नसकेको उनको आरोप छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७