सुजल र आरुषीले जिते स्वर्ण


१६ बैशाख २०८०, शनिबार
3 3

काठमाडौँ । लुम्बिनी प्रदेशका सुजल डाँगी र आरुषी भट्टराईले १३ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको १ सय मिटर दौडमा शुक्रबार स्वर्ण जितेका छन् । सुजलले छात्र तथा आरुषीले छात्रामा स्वर्ण जितेका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुजलले निर्धारित दूरी ११.४ सेकेण्डमा पूरा गरे । मधेस प्रदेशका आदेश यादवले रजत तथा कर्णाली प्रदेशका सुशील वलीले कांस्य जिते । आरुषीले निर्धारित दूरी तय गर्न १३.७ सेकेण्ड समय लगाइन् । बागमतीका दिना गोपालीले रजत तथा स्वागता खाइजुले कांस्य हात पारे ।

छात्र १ हजार ५ सय मिटर दौड ४ मिनेट २२.८ सेकेण्डमा सकाउँदै लुम्बिनीका विकास विकले शीर्ष स्थान हात पारे । गण्डकीका बादल कार्की दोस्रो तथा सुदूरपश्चिम प्रदेशका अमित आउजी तेस्रो भए । उक्त स्पर्धाको छात्रामा गण्डकीकी नारायणी भण्डारीले ५ मिनेट १५.४ सेकेण्डमा दौड पूरा गर्दै पहिलो बनिन् । लुम्बिनीकी मोतीकला डाँगी दोस्रो तथा कोशी प्रदेशकी निला जिमी तेस्रो भए ।

छात्र हाई जम्पमा बागमतीका नवीन खत्री पहिलो भए । उनले १.६८ मिटर उचाइ नाघे । गण्डकीका मनिष जिसी तथा कोशीका सागर यादव संयुक्त रूपमा दोस्रो स्थानमा रहे । सो स्पर्धाको छात्रामा १.४५ मिटर उचाइ नाघेकी गण्डकीकी सीमा श्रेष्ठले स्वर्ण चुमिन् । लुम्बिनीकी प्रमीला चौधरीले रजत तथा सुदूरपश्चिमकी सुस्मिता चौधरीले कांस्य प्राप्त गरे । तीन दिने प्रतियोगितामा सात प्रदेशका १५४ खेलाडीले विभिन्न २६ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७