चन्दा जुटाएर खेल मैदान निर्माण


१६ बैशाख २०८०, शनिबार
1601793862ground
फाइल फोटो

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ घराम्दीमा सरकारी निकायको अनुदानको तुलनामा दोब्बर बढी चन्दा सङ्कलन गरेर खेल मैदान निर्माण भएको छ ।

घराम्दीको पेरी भारानी युवा क्लबले चन्दा सङ्कलन र दाताको सहयोग जुटाएर भलिबल र बास्केटबल खेल सञ्चालन गर्न मिल्ने व्यवस्थित खेल मैदान बनाएका हुन् । क्लबका अध्यक्ष अमृत गर्बुजाले गाउँपालिकाबाट १४ लाख ३० हजार अनुदान प्राप्त भएको खेल मैदान बनाउन समुदायस्तरबाट ३४ लाख ७७ हजार सहयोग जुटेको बताए ।

‘खेतबारी र घरको आगँनमा खेलअभ्यास गर्नुपर्ने समस्या हटाउन खेलमैदान बनाएका हौँ’, उनले भने, ‘गाउँपालिकाले दिएको अनुदानभन्दा बढी चन्दा र श्रमदान जुटाएर खेलमैदान निर्माण भएको छ ।’ खेल मैदान निर्माण भएपछि भलिबल, बास्केटल खेलको अभ्यास, फुर्सदको समय सदुपयोग र प्रतियोगिता तथा सभा समारोह आयोजना गर्न सहज भएको खेलाडी नवीन फगामीले बताए ।

घराम्दी घर भई हाल बेलायत बस्ने होमबहादुर फगामीले रु चार लाख ५० हजारमा किनेर क्लबलाई उपलब्ध गराएको चार रोपनी जग्गामा ३० मिटर लम्बाइ र १७ मिटर चौडाइ भएको खेल मैदान निर्माण गरिएको हो । खेल मैदान निर्माणका लागि फगामीले थप रु दुई लाख सहयोग गरेका छन् । उनीसहित स्वदेश तथा विदेशमा रहेका घराम्दीवासीले २७ लाख सहयोग गरेका छन् । गाउँका भूतपूर्व सैनिकले रु तीन लाख २७ हजार खर्चेर खेलमैदान परिसरमा सार्वजनिक शौचालय बनाएका छन् ।

गाउँपालिकाले प्याराफिट, घेराबार र स्टेज बनाउन रु १४ लाख ३० हजार सहयोग गरेको छ । अनुदान र चन्दाका अलावा एक सय घरधुरीको बसोबास रहेको घराम्दीका बासिन्दाले १०/१० दिनभन्दा बढीका दरले श्रमदान पनि गरेका छन् । चालु आर्थिक वर्षमा गाउँपालिकाबाट स्टेज बनाउन रु सात लाख ५० हजार बिनियोजन भएको वडाध्यक्ष मइलन पुर्जाले बताए ।

उनका अनुसार यसअघि २०७८/७९ मा रु दुई लाख ८० हजार, २०७७/७८ मा रु तीन लाख र २०७६/०७७ मा रु एक लाख सहयोग गरिएको थियो । ‘गाउँपालिकाको अनुदानको तुलनामा दोब्बर बढी चन्दा र श्रमदान जुटाएर घराम्दीवासीले जनसहभागिताको नमूना प्रस्तुत गरेका छन्’, वडाध्यक्ष पुर्जाले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७