हिमपहिरोमा बेपत्ता ६ जनाको बिहानैबाट खोजी सुरु, लगातारको हिमपातले समस्या


२० बैशाख २०८०, बुधबार
himpahiro
फाइल फोटो

दार्चुला । हिमाली जिल्ला दार्चुला र बझाङमा हिमपहिरोमा परी बेपत्ता ६ जनाको आज (बुधबार) बिहानैदेखि खोजी थालिएको छ । दार्चुलामा चार जना महिला र एक पुरुष गरी ५ जना तथा बझाङमा एक महिला गरी ६ जना बेपत्ता छन् ।

उनीहरु सबै यार्सागुम्बा संकलन गर्न पाटन गएका बेला हिजो दिउँसो हिमपहिरोमा परेका थिए । दार्चुलाको भोलिङमा हिमपहिरोमा परी बेपत्ता हुनेमा डोटीको जोरायल–२ बुडरका नक्नी डोमा थापा, ईश्वरी थापा, क्षिभी सोमो थापा तथा दार्चुला दुहु–४ का कमला कुँवर र प्रवीण कुँवर रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

भोलिङमा हिमपहिरो खसेको खबर पाएपछि व्यास–१ छाङरुमा रहेको नेपाल प्रहरी र सशस्त्रको गुल्मबाट हिजो नै उद्धारका लागि टोली गएको थियो । तर हिजो बेलुका अबेरसम्म अवस्था थाहा हुन नसकेपछि फर्किएको टोली आज बिहानै फेरि खोजीमा गएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपसिंह धामीले जानकारी दिएका छन् ।

अहिले पनि भोलिङ क्षेत्रमा पानीसँगै हिमपात भएकाले खोजी तथा उद्धार कार्यमा कठिनाइ भएको छ । हिमपहिरोमा पुरिएका १२ जनामध्ये ७ जनाको सकुसल उद्धार गरिएको थियो । जोरायल–२ का खुर्पा थापा, छप्तेन थापा, पासाङ छरपेल बिष्ट, धुक्तेल थापा, हुम्लाको नाम्खा–५ का लाक्पा ग्याल्बो तामाङ, दार्चुला दुहु–४ का कलावती कार्की र अर्जुन कार्कीको सकुशल उद्धार गरिएको हो ।

त्यस्तै बझाङको पार्थी हिमाल क्षेत्र पुगेकी सुर्मा–१ देवडीकी झल्लादेवी बोहोराको अवस्था थाहा हुन सकेको छैन । उनको पनि बिहानैदेखि खोजी भइरहेको बझाङका सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले जानकारी दिएकी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७