‘नक्कली भुटानी शरणार्थी बनेर तीन सय नेपाली अमेरिका छिरिसके, जेठ ४ गते तथ्य खोल्छु’


२८ बैशाख २०८०, बिहीबार
kp oli 3

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सन् २०१२ देखि नक्कली भुटानी शरणार्थी प्रकरण सुरु भएको बताएका छन् ।

आज (बिहीबार) बाट च्यासलमा सुरु भएको केन्द्रीय कमिटीको पाँचौ बैठकलाई सम्बोधन गर्दै उनले अहिलेसम्म तीन सय बढी नेपाली नक्कली शरणार्थी बनेर अमेरिका छिरिसकेको बताए । भुटानी शरणार्थीलाई विदेशमा पुनर्वासको प्रक्रिया आफूले बढाएको पनि उनले बताए । ‘भुटानले फिर्ता लान नमानेपछि उनीहरुलाई प्लास्टिको पालमुनि बिजोग अवस्थामा राख्न सकिँदैन थियो’, उनले भने, ‘मैले नै अमेरिकासँग कुरा अगाडि बढाएर अहिले अधिकांश शरणार्थी पुनर्वासमा गएर राम्रो जीवनयापन गरिरहेका छन् ।’

उनले यो प्रकरण सन् २०१२ देखि सुरु भएको बताउँदै अहिलेसम्म ३ सयदेखि ४ सय नेपाली नक्कली भुटानी शरणार्थी बनेर अमेरिका छिरिसकेको पनि दाबी गरे । अध्यक्ष केपी शर्मा ओलीले आउँदो जेठ ४ गतेसम्म नक्कली भुटानी शरणार्थी प्रकरणमा को–को संलग्न भएको भन्ने तथ्य खोल्ने बताएका छन् ।

बिहीबार केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यो प्रकरणमा आफुले तथ्यहरु खोजिरहेको भन्दै जेठ चार गते संसदमा बोल्ने क्रममा त्यो तथ्य खोल्ने बताएका हुन् । ‘सम्भवत म ४ गते पार्लियामेन्टमा बोल्छु । ४ गते मैले संसदमा बोल्ने बेलासम्ममा कुन शरणर्थीका नाममा कहाँको को मान्छे नक्कली शरणार्थी बनाएर पठाइयो ? कसले पठायो ? को संलग्न छ समेतको मैले तथ्य प्रस्तुत गर्ने कोशिस गर्छु’, ओलीको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७