कलाकार किरण केसीको गीत सार्वजनिक


३१ बैशाख २०८०, आईतवार
kiran kc 4uXs9mb5XJ

काठमाडौं । ‘रात मकै’ को उपनामले परिचित हाँस्य कलाकार किरण केसी अभिनय र चलचित्र निर्माणसँगै गायनमा पनि सक्रिय छन् । पछिल्लो समय साङ्गीतिक भिडिओमा मोडलको रूपमा प्रस्तुत भइरहेका केसीले एकसाथ तीन गीत तयार गरेका छन् ।

उनले नेपाल भाषाको ‘छन्त खं सँ’ र नेपाली भाषाको ‘होला होला भन्दै’ मा गायनसँगै अभिनय पनि गरेका छन् । यस्तै ‘ए रात’ बोलको गीतमा उनको अभिनय मात्र छ । नेपाल भाषाको गीत इन्टरनेटमा सार्वजनिक भए पनि बाँकी गीत क्रमशः सार्वजनिक गरिने उनले जानकारी दिए ।

‘गीतको अडियो तयार भएको लामो समयपछि भिडिओ बनेको हो । मैले सक्दो मेहनत गरेर गीत तयार गरेको छु’, हाँस्य कलाकार केसीले भने, ‘गायन मेरो प्राथमिकतामा पर्छ । मेरो रूचिलाई बुझेर मलाई धेरैले गीत उपहार दिनुभएको छ । त्यो मेरो लागि अमूल्य उपहार हो ।’ उनले नेपाल भाषाको गीत गाउँदा केही कठिनाइ भए पनि मेहनतले सम्भव भएको प्रतिक्रिया दिए ।

हाँस्य कलाकार केसीले अभिनय यात्रा नै मह जोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको टेलिचलचित्रमार्फत सुरु गरेका थिए । ‘छन्त खं सँ’ र ‘होला होला भन्दै’ मा शब्द र सङ्गीत मदनकृष्ण श्रेष्ठले दिएका छन् । ‘किरणले अभिनय गर्ने, गाउने, लेख्ने लगायतका विविध विधामा आफूलाई अब्बल सावित गरिरहनु भएको छ । उहाँको सक्रियताले मलाई ऊर्जा प्राप्त हुन्छ’, हाँस्य कलाकार श्रेष्ठले भने ।

कलाकार हरिवंश आचार्यले गीत हेरेपछि गायनमा रहर मात्र नभइ मेहनत नै देखिएको बताए । ‘कुनै पनि विधा सजिलो हुँदैन । गायनमा झनै अभ्यास चाहिन्छ । किरणजीले आफूलाई यो लायक बनाउन निकै मेहनत गर्नुभएको छ । म उहाँसँग सुरुवाती समयदेखि नै सहकार्य गरिरहेको छु’, हाँस्य कलाकार आचार्यले भने । हाँस्य कलाकार केसीका अनुसार दोस्रो गीत जेठ १५ र तेस्रो गीत असार १५ मा सार्वजनिक हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७