अस्ट्रेलियाली सहायक विदेशमन्त्री वाट्सले आज प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई भेट्दै


३ जेष्ठ २०८०, बुधबार
tim wats

काठमाडौं । हिन्द महासागर सम्मेलनमा सहभागी हुन आएका अष्ट्रेलियाली सहायक विदेशमन्त्री टिम वाट्सले आज (बुधबार) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गर्ने भएका छन् ।

वाट्स दुई दिने नेपाल भ्रमणका क्रममा मंगलबार काठमाडौं आएका हुन् । भ्रमणमा अष्ट्रेलियाको नेपालसँगको सम्बन्ध र भविष्यमा हुनसक्ने सहकार्यका अवसरको बारेमा चर्चा हुने यहाँस्थित अष्ट्रेलियाली राजदूतावासले जनाएको छ । उनको यो भ्रमण कार्यक्रममा बङ्गलादेशमा छैटौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने र भुटान तथा भारतको द्विपक्षीय भ्रमण गर्ने कार्यक्रम पनि समावेश छ ।

सहायकमन्त्री वाट्सले भ्रमणका दौरान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । सो अवसरमा उनले अष्ट्रेलियासँगको सहकार्य, ६३ वर्षभन्दा पुरानो कूटनीतिक सम्बन्ध र झाँगिँदो जनस्तरको सम्बन्धलगायत विषयबारेमा चर्चा गर्नेछन् । अष्ट्रेलियामा नेपाली समुदाय सबैभन्दा चाँडो बढिरहेको आप्रवासी जनसङ्ख्या भएको छ । हाल करिब एक लाख ३० हजार नेपाली अष्ट्रेलियामा बसोबास गर्दछन् ।

भ्रमण कार्यक्रमको मुख्य आकर्षणका रूपमा १३औँ शताब्दीको पाटनको सुलीम टोलस्थित रत्नेश्वर मन्दिरको टुँडाल समुदायलाई फिर्ता गर्न पाटन संङ्ग्रहालयमा आयोजना हुने कार्यक्रममा सहायकमन्त्री वाट्स सहभागी हुनेछन् । आर्ट ग्यालरी न्यु साउथ वेल्सले यो महत्वपूर्ण कलाकृति नेपाललाई फिर्ता गरेको हो । उक्त सङ्ग्रहालयका निर्देशक डा माइकल ब्राण्डले उक्त टुँडाल हस्तान्तरण गर्नेछन् ।

यस्तै उनले काठमाडौं विश्वविद्यालयको हाल अष्ट्रेलियाली संस्थासँग भइरहेको सहकार्य र खानी उत्खनन, हरित हाइड्रोजन इन्धनसम्बन्धी अनुसन्धान र हाल भइरहेका विद्यार्थी आदानप्रदान कार्यक्रमलगायत विषयमा भविष्यमा हुनसक्ने सहकार्यका बारेमा समेत जानकारी लिनेछन् ।

सहायकमन्त्री वाट्सले बनेपास्थित बायोभ्याक कम्पनीमा अत्याधुनिक निदानात्मक परीक्षण प्रयोगशाला र पशु खोप विकास तथा उत्पादन कार्यमा अष्ट्रेलियाबाट भएको प्रविधि हस्तान्तरण र शैक्षिक र अनुसन्धान सहकार्यका बारेमा जानकारी लिनुहुने दूतावासले जनाएको छ ।

उनले डा. सन्दुक रुइत र अष्ट्रेलियाली डा फ्रेड हलोजको सहकार्यमा स्थापित तिलगङ्गा आँखा प्रतिष्ठानको भ्रमण गर्नेछन् । पछिल्लो ३० वर्षमा अष्ट्रेलियाली सरकार र फ्रेड हलोज फाउण्डेशनले तिलगङ्गा आँखा प्रतिष्ठानलाई आँखा स्वास्थ्य सेवा प्रदान गर्न सहयोग गरिरहेको छ । साथै उक्त सहायताबाट नेपालमा र अन्तर्राष्ट्रियस्तरमा वितरण हुने इन्ट्राअकुलर लेन्स उत्पादन गर्ने कारखाना स्थापना भएको छ ।

साथै सहायकमन्त्री वाट्सले अस्ट्रेलियाका हिन्दू र बौद्धमार्गीको आस्थाको केन्द्र रहेका र उनीहरूको सांस्कृतिक सम्बन्ध रहेका पशुपतिनाथ र बौद्धनाथ क्षेत्रको पनि भ्रमण गर्नेछन् । उनले अष्ट्रेलियाबाट शिक्षा प्राप्त गरेर नेपालका विभिन्न क्षेत्रमा कार्य गर्दै सफलता हासिल गरेका नेपाली पूर्व विद्यार्थीलाई पनि भेट्ने कार्यक्रम रहेको छ ।

सहायकमन्त्री वाट्सले अष्ट्रेलियामा निर्मित पोर्टेवल अल्टिच्युुड च्याम्बर हिमालयन उद्धार सङ्घलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । उक्त उपकरण सङ्घले सोलुखुम्बुको फेरीचे र सगरमाथा आधार शिविरमा रहने आकस्मिक क्लिनिकमा प्रयोग गर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७