गोरखामा एक लाख २० हजार पशुचौपायालाई खोप


१२ जेष्ठ २०८०, शुक्रबार
Goat ppr sindhupalchok scaled
फाइल फोटो

गोरखा । गोरखाको दुई पालिकाभित्रका करिब एक लाख २० हजार पशुचौपायालाई खोप लगाइएको छ । भीमसेन थापा गाउँपालिका र आरुघाट गाउँपालिकाभित्रका गाईभैँसी, बाख्रा, बङ्गुर तथा कुकुरलाई विभिन्न रोगविरुद्धको खोप लगाइएको हो ।

पशुसेवा विज्ञ केन्द्रका अधिकृत तथा सूचना अधिकारी डा. लालमणि अर्यालका अनुसार भीमसेन थापा गाउँपालिकामा १४ हजार एक सय ३४ गाईभैँसीलाई खोरेत, भ्यागुते रोग र चरचरेविरुद्धको खोप लगाइएको छ । त्यस्तै नौ सय १२ बङ्गुरलाई स्वाइन फिवरविरुद्धको खोप र ३९ हजार नौ सय २२ बाख्रालाई पिपिआर रोगविरुद्ध खोप लगाइएको छ । भीमसेन थापा गाउँपालिकामा सात सय ११ कुकुरलाई पनि यस वर्ष रेबिजविरुद्धको खोप दिइएको डा आर्चायले जानकारी दिए ।

त्यस्तै आरुघाटमा १७ हजार आठ सय ९१ गाईभैँसीलाई खोरेत, भ्यागुते रोग र चरचरेविरुद्धको खोप र एक हजार छ सय ३५ बङ्गुरलाई स्वाइन फिवरविरुद्धको खोप लगाइएको छ । आरुघाटभित्र ४२ हजार छ सय ४७ बाख्रालाई पिपिआरविरुद्धको तथा एक हजार चार सय ५५ कुकुरलाई रेबिजविरुद्धको खोप लगाइएको छ ।

जिल्लामा पशुधनको सुरक्षाका लागि २०७८ सालदेखि सुरु भएको खोप कार्यक्रम अहिले चार स्थानीय तहमा विस्तार भएको डा. आर्चायले बताए । ‘खोप कार्यक्रम सञ्चालन भएका क्षेत्रमा बाख्रामा पिपिआरविरुद्धको खोप लगाएपछि रोग देखापरेको छैन’, उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७