रेशम चौधरीको आममाफीविरुद्ध सर्वोच्च पुगिन् प्रहरी निरीक्षक पत्नी शारदा

काठमाडौं । टीकापुर हत्याकाण्डका मुख्य योजनाकार ठहर भई कारागार सजाय भोगिरहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा निवेदन परेको छ । टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायतले सर्वोच्चमा निवेदन दिएकी हुन् ।
रेशमलाल चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा निवेदन प्राप्त भएको र अब प्रक्रिया अगाडि बढाइने सर्वोच्च प्रवक्ता बिमल पौडेलले जानकारी दिए । आजै बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले गणतन्त्र दिवस २०८० को अवसर पारेर जेलमा रहेका चौधरीको बाँकी कैद सजाय माफी मिनाहका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले गृहमन्त्रालयबाट पठाएको चौधरीलाई आममाफी दिनेसम्बन्धी प्रस्ताव फिर्ता गरेका थिए । केशवकी पत्नी शारदाले प्रस्ताव फिर्ता गर्न निवेदन दिएपछि राष्ट्रपति पौडेलले फिर्ता गरेका हुन् । विसं २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरुहट थारुवान आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित सात सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुनेगरी भएको हिंसात्मक घटनाका आरोपित चौधरी जेल चलान भएका थिए । उनलाई जिल्ला अदालत कैलाली,उच्च अदालत दिपायल र सर्वोच्च अदालत समेतले जन्मकैदको सजाय सुनाएका छन् ।