सर्प पालनमा अनियमितता देखिए सजाय भोग्न तयार छु : झलनाथ खनाल

‘एक पटक जन्मेको बालक भित्र पस्न सक्दैन’


१८ जेष्ठ २०८०, बिहीबार
Jhalanath Khanal

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले सर्प पालन प्रकरणमा आफ्नो कुनै अनियमितता भेटे आफू सजाय भोग्न तयार रहेको बताएका छन् ।

आज (बिहीबार) काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले अनियमितता गरेको प्रमाणित गर्न चुनौती पनि दिए । कुनै पनि भ्रष्टाचारका मुद्दामा आफूबाटै अनुसन्धान शुरु गर्न पनि खनालले आग्रह गरे । बुधबार खनालविरुद्ध राजवादी पक्षधरले आक्रमण प्रयास गर्दै सर्प पालन गर्दा भ्रष्टाचार गरेको भन्दै नारावाजी गरेका थिए । खनालले त्यसको जवाफमा पूर्वराजालाई गुण्डागर्दी बन्द नगरे देशभरी गतिविधि गर्न नदिने चेतावनी दिए । उनले राप्रपाको अध्यक्ष बनेर प्रतिष्पर्धामा आउन पूर्वराजालाई चुनौति पनि दिए ।

‘म यहाँ आउनुअघि सोचे, कतै यहाँ मण्डले गुण्डा त प्रवेश गरेका होइनन्’, खनालले भने, ‘एउटा कार्यक्रममा केही मान्छेले बोल्न समय मागे । जथाभावी बोले । सबै पार्टी र नेताविरुद्ध विशेषगरी मेरा विरुद्ध नारा लगाए ।’ उनले मण्डले व्यूँताउन कोशिस भइरहेको आरोप लगाए । उनले पूर्वराजा ज्ञानेन्द्रको इशारामा यो सब भइरहेको आरोप लगाए । साथै मन्दिर धाउँदैमा राजतन्त्र नफर्कने खनालको भनाइ छ ।

‘ज्ञानेन्द्रलाई केही दिन अघि भनेको थिए, राजनीतिक गतिविधिले भाडभैलो मञ्चाउनुभन्दा राप्रपाको अध्यक्ष बनेहुन्छ । नभए अर्को पार्टी खोले हुन्छ’, खनालले भने, ‘ज्ञानेन्द्र शाहलाई भन्न चाहन्छु, खबरदार देशमा गुण्डागर्दी मच्चाउने इच्छा पूरा हुनेवाला छैन । दिउँसै आकाशतिर फर्केर हेरेको सपना हो । एक पटक जन्मेको बालक भित्र पस्न सक्दैन । राजतन्त्र नेपाल धर्तीमा फर्किने वाला छैन । मन्दिर नगए हुन्छ ।’

उनले नारायणहिटीमा फेरि मुकुट लगाएर जाने दिवा स्वपना भएको भन्दै नागरिक अभिनन्दन खानु राप्रपालाई केही भोट बढाउने कुरा मात्र भएको बताए । ‘चीनमा पनि पहिले राजतन्त्र थियो । अन्तिम राजा पोइले गज्जबको किताब लेखेका छन्’, उनले भने, ‘त्यो किताबमा उनले राजा हँुदा कति काम गर्नुपथ्यो । नागरिकलाई सेवा गर्नुछ भने म ज्ञानेन्द्र शाहलाई यो किताब पढ्न अनुरोध गर्छु । यो देशलाई काम लाग्ने नागरिक बन्नुस्, हुल्लडबाजलाई होइन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७