अग्निपीडित भन्छन् : ओत लाग्ने छाना भएन


१९ जेष्ठ २०८०, शुक्रबार
aire banke scaled

बाँके । बाँकेको नरैनापुर गाउँपालिका–५ जमुनाह गाउँका अग्निपीडित खुला आकाशमुनि बस्न बाध्य भएका छन् । रेडक्रसले वितरण गरेको त्रिपाल पर्याप्त नभएका कारण जलेको घर नजिक खुला आकाशमुनि बस्नुपरेको नरैनापुर गाउँपालिका–५ जमुनाहकी अग्निपीडित केतीका यादवले बताए ।

‘खुला आकाशमुनि निन्द्रा राम्रोसँग लाग्दैन, कतिबेला हावाहुरी र पानी आउने डर हुन्छ’, उनले भने, ‘दिउँसोमा गर्मी हुँदा र पानी पर्दा ओत लाग्ने छाना छैन, राम्ररी निदाउन पाइएको छैन ।’ स्थानीय सरकार, विभिन्न सङ्घसंस्था र राजनीतिक दलले खाद्यान्नलगायतका राहत सामग्री वितरण गर्दै आए पनि अग्नि पीडितले घर बनाउन सहयोगको अपेक्षा गर्ने गरेका छन् । ‘अग्निले घरसँगै धनमाल, लत्ता कपडा र वर्षभरि खाने धान चामल जलेर नष्ट भयो, लगाउने कपडा र बस्ने बास नहुँदा बालबालिका, महिला र वृद्धवृद्धालाई धेरै समस्या भएको छ’, स्थानीय केशवराम यादवले भने, ‘खानेकुरा त जसोतसो व्यवस्था गरौँला, घरको छाना हाल्ने जस्ता चाहिएको छ ।’

स्थानीय लालमोहन यादवले बस्ने घर नहुँदा गर्मीयाममा धेरै समस्या हुने गरेको सुनाए । अग्निबाट पीडित कतिपयको आश्रयस्थल भए पनि अधिकांशले जलेको घरमै खाट लगाएर रात गुजार्ने गरेका छन् । गर्मीयाममा खुला आकाशमुनि सुत्नुपर्दा लामखुट्टे र सर्पदंशको डर हुने गरेको लालमोहनले बताए ।

गत आइतबार जेठ १४ गते नरैनापुर–५ जमुनाह गाउँमा ११ घर नष्ट हुनेगरी अग्नि भएको थियो । गर्मीयामको सुरुआतसँगै नरैनापुर क्षेत्रमा अग्निका घटना बढेका छन् । यो वर्षमात्रै नरैनापुरको वडा नं ३ गेगलीगाउँमा पाँच घर, जनतापुरमा तीन घर, वडा नं ४ को जयरामपुरमा दुई घर गरी १० घरसहित २१ घरमा अग्नि भएको नेपाल रेडक्रस सोसाइटी गङ्गापुर उपशाखाका सचिव सोहनलाल यादवले जानकारी दिए ।

उनका अनुसार, गाउँपालिकामा अग्निका घटना यस वर्ष ठूलो प्रकोपका रुपमा भइरहेका छन् । अग्निपीडितलाई रेडक्रसमार्फत त्रिपाल, भाँडावर्तन र कम्बल वितरण गरिएको छ भने विभिन्न सङ्घसंस्थाद्वारा खाद्यान्नलगायत राहत वितरण गरिँदै आएको छ । नरैनापुरका अधिकांश बस्तीमा एकापसमा जोडिएर खरको छानाबाट बनेका घरमा अग्निको धेरै जोखिम हुने गरेको यादवको भनाइ छ ।

अग्निको प्रकोप न्यूनीकरण गर्न खरका छाना हटाउने अभियान सञ्चालन गरिने बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सूर्य ढकालले बताए । ‘अहिले तत्काल अग्नि पीडितलाई खाद्यान्न र लत्ताकपडासहितको अत्यावश्यक राहत सामग्री वितरण गरिएको छ’, उनले भने, ‘गाउँपालिका, प्रदेश सरकारसँग समन्वय गरेर नरैनापुरलाई खरको छानामुक्त बनाएर अग्निको समस्या समाधान गरिने छ ।’ उनले गत आइतबार अग्नि भएको नरैनापुर वडा नं ५ जमुनाहका ११ घर, यसअघि अग्नि भएका अन्य वडाका घरपरिवारलाई तत्कालका लागि चामल, तेललगायतका खाद्यान्न र लत्ताकपडा वितरण गरिएको बताए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७