प्रधानमन्त्रीको प्रश्न : नागरिकता विधेयक फेरि राष्ट्रपतिले होल्ड गरिदिए के हुन्छ ?


२२ जेष्ठ २०८०, सोमबार
Prachanda 4 scaled

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नागरिकता विधेयक यसअघि संसदबाट दुई–दुई पटक संसदबाट पारित भएर राष्ट्रपतिमा गएको विषय भएको बताएका छन् ।

आज (सोमबार) को प्रतिनधि सभा बैठकमा प्रतिपक्षी दलका सांसदहरूले प्रक्रिया मिचेर विधेयक प्रमाणीकरण गरिएको भन्दै जवाफ माग गरेपछि प्रधानमन्त्रीले यसअघि दुई-दुई पटक पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपतिमा गएको तर राष्ट्रपतिले प्रमाणीकरण नगरिकन होल्डमा राखेको भन्दै त्यही बेलामा पनि राष्ट्रपतिले संविधानको मर्म विपरित होल्ड गर्नु नहुने धारणा राखेका हुन् ।

हिजोको दिनमा राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरेर संविधानमाथि प्रहार गरेको आरोप पनि प्रचण्डले लगाएका छन् । ‘नागरिक विधेयक संसदबाट दुई-दुई पटक पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपतिमा गएको हामी सबैले बुझेको कुरा हो । तर राष्ट्रपतिले प्रमाणीकरण नगरिकन होल्डमा राख्नुभयो । त्यो बेलामा पनि कुरा उठ्यो संविधानको मर्म विपरीत होल्ड गर्नु हुँदैन थियो भनेर । त्यसो गर्दा संविधान मिचियो । राष्ट्रपतिबाट नै संविधानमा राखिएको प्रावधान सदनबाट पास भएर गएको विधेयक फिर्ता पठाउन सक्ने र अर्को पटक पास गरेर गएको विधेयक १५ दिनभित्र अनिवार्य रुपमा प्रमाणीकरण गर्नुपर्ने संवैधानि व्यवस्था हो । हिजो त्यो व्यवस्था उल्लंघन भयो । संविधानको मर्ममाथि प्रहार भयो,’ उनले भने ।

प्रधानमन्त्री प्रचण्डले नागरिकता विधेयक संसद्बाट पुनः अघि बढाउँदा अघिल्लो राष्ट्रपतिले जस्तै दुई–दुई पटक विधेयक होल्ड गरिदिए के हुन्छ भन्दै प्रश्न गरेका छन् । बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले सबै प्रकृया पुर्याएर राष्ट्रपतिकहाँ पठाएपछि अहिलेका राष्ट्रपतिले पनि पहिले जस्तै विधेयक होल्ड गरे के हुन्छ भन्दै प्रश्न गरे ।

‘हामीले प्रतिनिधि र राष्ट्रियसभाबाट विधेयक पारित गरेर पठायौँ, फेरि दराजमा गएर थन्कियो भने हाम्रो हालत के हुन्छ’, उनले प्रश्न गरे, ‘हाम्रो लोकतन्त्रको भविष्य के हुन्छ ? हाम्रो यो संविधानको भविष्य के हुन्छ ? भन्ने प्रश्नलाई सबैले गहिरोसँग विचार गरौँ त ।’ यसो भएमा लोकतन्त्र र संविधानविरुद्ध नजिर बस्ने उनले जिकिर गरे । यसले संविधान र व्यवस्थामाथि घात हुने उनको भनाइ छ । अहिलेको प्रकृयाले संविधान र लोकतन्त्र ट्रयाकमा आएको र राष्ट्रपतिले संविधानलाई डिरेल उत्पन्न गराउने खतरा टरेर गएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७