आमाको काजकिरियामा नौ वर्षीय नाबालक


१ असार २०८०, शुक्रबार
kiriya
सांकेतिक तस्वीर

तनहुँ । व्यास नगरपालिका–१२ स्थित कमलबारी निवासी नौ वर्षीय छोरा किस्मत दरै आमाको काजकिरिया बसेका छन् । आमा शर्मिलाको २६ वर्षको उमेरमा मृत्यु भएपछि नाबालक छोरा विधिवतरूपमा काजकिरियामा बसेका हुन् ।

सुत्केरी गराउने क्रममा आमा शर्मिलाको पोखरास्थित गण्डकी अस्पतालमा मृत्यु भएपछि छोरा काजकिरियामा बसेका हुन् । मृतक दरैको बुधबार दमौलीस्थित छाब्दी दोभानघाटमा जातीय पराम्पराअनुरुप अन्त्येष्टि गरिएको हो । जेठ २८ गते दमौली अस्पतालमा उपचारका लागि लगे पनि सम्बन्धित चिकित्सक नभएको जानकारी पाएपछि देउरानीलाई पोखरा लगिएको मृतककी जेठानी निरु पौडेल दरैले जानकारी दिइन् । उपचारका क्रममा नवजात शिशुलाई बचाउन नसकेपछि आमालाई बचाउन चिकित्सकले भने अनुरुप पाठेघरसमेत फयाँक्दा पनि बचाउन नसकिएको उनले दुःखसो पोखिन् ।

अस्पतालका चिकित्सकको लापरवाहीका कारण महिला र शिशु दुवैको मृत्यु भएको भन्दै मृतकका आफन्तले केही दिनसम्म शव बुझ्न मानेका थिएनन् । शव नबुझेपछि पीडित पक्ष र अस्पतालका चिकित्सकबीच द्विपक्षीय छलफल भएको थियो ।
छलफलका क्रममा मृतकका छोरा नौ वर्षीय किस्मतको जीवनभर स्वास्थ्योपचारमा छुट दिने सहमति भएको मृतककी हजुरबुवा चीजबहादुर दरैले जानकारी दिए । अस्पतालले मृतक महिलाको शव दमौली घाटसम्म निःशुल्करूपमा ल्याइदिन सहयोग गरेको उनले बताए । ‘नसोचेको दुःखद् घट्ना हुन पुग्यो’, उनले भने, ‘न त आमा रह्यो न त शिशुलाई नै बचाउन सकियो, जस्तो परे पनि सहनुबाहेक अरु केही भएन ।’ रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७