हिमालय एयरलाइन्सले हरेक शनिबार बेइजिङ उडान भर्ने


१० असार २०८०, आईतवार
Himalayan Air

काठमाडौँ : नेपाल र चीनको संयुक्त लगानी रहेको अन्तर्राष्ट्रिय उडान भर्ने निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले यही साताबाट काठमाडौँ र बेइजिङबीचको नियमित उडान सुरु गरेको छ । हिमालय एयरलाइन्सले काठमाडौँ–बेइजिङ–काठमाडौँ शनिबार (९ असार २०८०) देखि सञ्चालनमा आएको जनाएको छ ।

चीनका लागि नेपाली राजदूत विष्णु पुकार श्रेष्ठले दुई राष्ट्रबीच बढ्दो मित्रता र सहयोगको प्रतिनिधित्व गर्दै हिमालयएयरलाइन्स्को पहिलो उडानबाट बेइजिङको यात्रा गरेका छन् । एयरलाइन्सको पहिलो उडान, एच नाइन ६६५ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँबाट स्थानीय समय अनुसार बिहानको ७ बजेर ४० मिनेटमा प्रस्थान गरेको छ र बेइजिङ डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थल, बेइजिङमा दिउँसो २ बजेर १५ मिनेटमा अवतरण हुने छ । उडानको अवधि ४ घण्टा ४५ मिनेटको रहने छ ।

साथै बेइजिङबाट फर्कने उडान, एच नाइन ६६६, स्थानीय समय अनुसार दिउँसो ३ बजेर २५ मिनेटमा प्रस्थान गर्ने तालिका रहेको छ जुन बेलुका ६ बजेर ३० मिनेटमा काठमाडौँमा अवतरण हुने छ । 

यस नयाँ सेवाले बेइजिङ र काठमाडौँ घुम्न चाहने यात्रुहरूलाई सहज र प्रभावकारी यात्रा विकल्प प्रदान गर्ने कम्पनीले जनाएको छ । यस रुटको उडान पुनः सुचारु हुँदा नेपालको पर्यटन र व्यापारमा टेवा पुग्ने एयरलाइन्सको विश्वास रहेको छ । 

‘काठमाडौँ र बेइजिङ बीचको निर्धारित उडान सुरु गर्न पाउँदा हामी हर्षित छौँ । यस क्षेत्रका दुई प्राचीन राजधानीहरूलाई जोड्न र साथै दुई देशबीचको पर्यटन विकासलाई पुनर्जीवित गर्न समेत यसले प्रभावकारी भूमिका निर्वाह गर्ने हुँदा कोभिड–१९ को महामारी पछि यस रुटमा उडानहरू पुनः सुचारु हुनु महत्त्वपूर्ण छ,’ उपाध्यक्ष विजय श्रेष्ठले बताए । यात्रुहरूले हिमालय एयरलाइन्सको टिकेटिङ काउन्टरबाट काठमाडौँ–बेइजिङ–काठमाडौँ उडानको टिकट बुकिङ गर्न सक्नेछन् । 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७