आशिषको गोलमा नेपालले पाकिस्तानलाई १५ वर्षपछि हरायो


१२ असार २०८०, मंगलवार
saff

काठमाडौं । आशिष चौधरीले दोस्रो हाफमा गरेको गोलमा नेपालले साफ च्याम्पियनसिप–२०२३ मा आज (मंगलबार) पाकिस्तानलाई १–० ले पराजित गरेको छ । नेपालले पाकिस्तानलाई १५ वर्षपछि हराएको हो ।

खेल बराबरीमा अवस्थामा अघि बढिरहेका बेला आशिषले ८०औं मिनेटमा गोल गरेका हुन् । लोकेन लिम्बूले यो गोलका लागि अवसर सिर्जना गरेका थिए । आशिषले पेनाल्टी एरियाको ठीक बाहिरबाट शक्तिशाली प्रहार गर्दै गोल गरे । यो नेपालका लागि उनको पहिलो गोल हो । जितका बाबजुद कान्तिरभा रंगशालामा भएको समूह ‘ए’ को खेलमा नेपालको प्रदर्शन सबै क्षेत्रमा कमजोर रह्यो । यो नतिजापछि नेपालको तीन अंक भएको छ भने पाकिस्तान शून्य अंकमा रह्यो ।

पाकिस्तानको यो लगातार १२औं हार हो । पाकिस्तान पछिल्लो पाँच वर्षयता लगातार पराजित छ । प्रतियोगितामा भने आफ्नो अन्तिम खेल अगाडि नै नेपाल र पाकिस्तान दुवै सेमिफाइनल पुग्ने सम्भावनाबाट वञ्चित भइसकेका थिए । त्यसैले यो प्रतिष्ठाको लडाइँ मात्र रहेको थियो । आशिषको गोल अगाडि नेपालले केही अवसर सिर्जना गरे पनि त्यो निर्णायक सावित हुने सकेन । विमल घर्ती मगरले ४१औं मिनेटमा गरेको प्रहार पाकिस्तानी गोलरक्षक युसुफ बटले रोके ।

यस्तै नवयुग श्रेष्ठले ५१ औं मिनेटमा नजिकको दूरीबाट गरेको हेडले पोस्टका दिशा लिन सकेन । नेपालको सबैभन्दा राम्रो मौका भने देवेन्द्र तामाङले बनाए । उनले ६८औं मिनेटमा गरेको फ्रि–किक प्रहार पोस्टमा लागेर फर्केको थियो । यस्तै एरिक विष्टले ७२औं मिनेटमा गरेको अर्को फ्रि–किक पोस्टमा लागेर बाहिरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७