पहिरोले पोखरा–बागलुङ र महाकाली लोकमार्ग अवरुद्ध


१९ असार २०८०, मंगलवार
pahiro

पोखरा । वर्षासँगै आएको बाढी र पहिरोका कारण महाकाली लोकमार्ग अवरुद्ध भएको छ । शैल्यशिखर नगरपालिका–६ पनेबाज क्षेत्रमा पहिरो खस्दा महाकाली लोकमार्गअन्तर्गतको गोकुलेश्वर–खलङ्गा सडक क्षेत्र बन्द भएको हो ।

सोमबार रातिदेखि सुरु भएको वर्षासँगै ठाउँ–ठाउँमा खसेको पहिरोले सडक अवरुद्ध भएको छ । खलङ्गाबाट महेन्द्रनगर–काठमाडौँका लागि छुटेका बस सडक अवरुद्ध हुँदा बाटोमै रोकिएका छन् । पानी पर्दा बेला–बेलामा महाकाली लोकमार्गअन्तर्गत गोकुलेबाट पनेबाज–ऐरीछानासम्म सडक अवरुद्ध हुने गरेको छ । सडक अवरुद्ध भएपछि छोटो तथा लामो दूरीका सवारीसाधन गन्तव्यमा पुग्न सकेका छैनन् ।

महेन्द्रनगर, धनगढीबाट खलङ्गाका लागि छुटेका रात्रिबस समेत बाटोमै रोकिएका कारण यात्रु समस्यामा परेका छन् । पहिरो सफा गर्न बिहानैदेखि डिभिजन सडक बैतडी पाटनको लोडरले प्रयास गरिरहेको भए पनि लगातार परिरहेको वर्षाका कारण अवरुद्ध लोकमार्ग खुलाउन समस्या भएको सडक विभागका सुपरभाइजर राजेन्द्रसिंह धामीले जानकारी दिए ।
पहिरो खस्दा पोखरा–बागलुङ खण्ड अवरुद्ध
धवलागिरि क्षेत्रको ‘लाइफ लाइन’ का रूपमा रहेको मध्यपहाडी राजमार्गको पोखरा–बागलुङ खण्ड अवरुद्ध बनेको छ । पर्वतको मोदी गाउँपालिका–६ स्थित महभिरमा सडकमाथिबाट पहिरो खस्दा गए रातिदेखि सडक अवरुद्ध बनेको हो ।
भारी वर्षाका कारण भिरबाट ठूला–ठूला ढुङ्गासहितको पहिरो खसेर सडक पुरिएको हो । अवरुद्ध सडक खुलाउनका लागि जेसिबी र सुरक्षाकर्मीलाई परिचालन गर्ने तयारी भइरहेको पर्वतका ट्राफिक प्रहरी प्रमुख सुमन न्यूरेले जानकारी दिए । वर्षा नरोकिएका कारण सडक खुलाउन समस्या भएको छ ।

सडक अवरुद्ध हुँदा पोखरातर्फबाट धवलागिरिका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङतर्फ आएका सवारीसाधन नयाँपुलमा रोकिएका छन् भने यस क्षेत्रबाट अन्यत्र जाने लामो तथा छोटो दूरीका सवारीसाधन डिमुवामा रोकिएका छन् । अहिले पनि यस क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ । ठूलो वर्षाका कारण केही ग्रामीण सडकमा समेत आवतजावत बन्द भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७