गायक रोविन तामाङको निधन


२० असार २०८०, बुधबार
robin tamang1688492904

काठमाडौँ । नेपाली रक ब्याण्ड ‘रबिन एण्ड दी रिभ्युलेसन’ का चर्चित गायक रोविन तामाङको निधन भएको छ ।
६० वर्षीय उनको मंगलबार साँझ काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–५ चिस्यानीस्थित निवासमा निधन भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दान कार्कीले तामाङ घरमै मृत भेटिएको पुष्टि गरेका छन् ।
कार्कीका अनुसार तामाङको शव उनको दुई तले घरको बेडरूममै भेटिएको हो । तर उनको निधनको कारण खुलिसकेको छैन ।

रविनको निधन भएको पुष्टि उनकी दिदी भगवती तामाङले पनि गरेकी छन् । प्रहरी प्रभाग बुढानिलकण्ठका प्रहरी निरीक्षक दिपेन्द्र चन्दका अनुसार मंगलबार साँझ ६ बजे प्रहरी कन्ट्रोलमा फोन आएको थियो । रविनले फोन नउठाएको भन्दै प्रहरी कन्ट्रोलमा फोन आएपछि प्रहरी निरीक्षक चन्दसहितको टोली उनको घरमा पुगेको थियो । उनका अनुसार सुरूमा रविनलाई उनकी श्रीमतीले पटक–पटक फोन गरेकी थिइन् । उनी बाहिर गएर फर्किने बेलामा घरको गेट लगाइएको थियो । रविन दोस्रो तलामा बस्थे । उनकी श्रीमतीले बारम्बार फोन गर्दा र बोलाउँदा पनि रविनले कुनै प्रतिक्रिया दिएनन् ।

त्यसपछि उनकी श्रीमतीले रविनकी दिदीलाई फोन गरेकी थिइन् । दिदीले पनि रविनलाई बारम्बार फोन गर्दा पनि नउठाएपछि उनैले प्रहरी कन्ट्रोलमा फोन गरेर जानकारी दिएकी हुन् । ‘उहाँ माथिल्लो तलामा बस्नुहुने रहेछ । दुई तलाको घर हो । बाहिरबाट मुख्य गेट पनि बन्द नै थियो,’ घटनास्थल पुगेका प्रहरी निरीक्षक चन्दले भने, ‘हामीले बाहिरबाट भर्‍याङ लगाएर झ्यालबाट हे¥यौं । खाटको छेउमा घोप्टो परेर सुतेको अवस्थामा हुनुहुन्थ्यो ।’

राेविन लडिरहेको देखेपछि बचाउन सकिन्छ भनेर ढोका फोडेर प्रहरी र आफन्त कोठामा पसेको उनले बताए । ‘तर शव हेर्दा चिसो भइसकेको थियो,’ उनले भने, ‘घटनास्थलमा शंकास्पद केही पनि छैन । खाट र कोठा सबै सफा नै थियो । मुख्य गेट, माथिको ढोका पनि बन्द नै थियो। शंकास्पद केही पनि छैन ।’ रोविनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

रोविनले थुप्रै चर्चित गीत गाउनुका साथै फिल्ममा समेत अभिनय गरेका छन् । उनी पछिल्लो समय फिल्म ’छड्के’ मा देखिएका थिए । उनका ‘चिसो चिसो हावामा’, ’जति माया लाए पनि’, ‘भुलमा भुलियो’ लगायत गीत चर्चित छन् । छड्केबाहेक उनले मुखौटा, जय परशुराम, चिसो एस्ट्रेलगायत फिल्ममा अभिनय गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७