ललितपुर महानगर र गुल्मीको मालिका गाउँपालिकाबीच भगिनी सम्बन्ध


२० असार २०८०, बुधबार
malika lapu

ललितपुर । ललितपुर महानगर र गुल्मीको मालिका गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ । ललितपुरमा आज आयोजित एक कार्यक्रममा ललितपुर महानगरपालिका र गुल्मीको मालिकाबीच भगिनी सम्बन्ध कायम गर्ने समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।

ललितपुर महानगरपालिकाको तर्फबाट नगरप्रमुख चिरीबाबु महर्जन र मालिका गाउँपालिका प्रमुख देवीराम अर्यालले समझदारी पत्रमा हस्ताक्षर गरे । सो अवसरमा नगरप्रमुख चिरीबाबु महर्जनले असल सम्बन्ध र अभ्यासको आदानप्रदान भएको बताए ।
‘असल अभ्यासको आदानप्रदान गर्नुपर्छ । भूगोल फरक भए पनि धेरै कुरालाई साटासाट गर्न सकिन्छ । मितेरी सम्बन्धले ललितपुरको कला, संस्कृति र सम्पदाको विकास मालिका गाउँपालिकामा पनि हुनेछ भन्ने विश्वस छ । थोरैबाट सहयोगको सुरुआत यो वर्षबाट हुन्छ, निरन्तरता दिन्छौँ’, नगर प्रमुख महर्जनले भने ।

बागमती प्रदेशका एक सय १९ वटा पालिकामध्ये ललितपुर महानगरपालिकाले सबैभन्दा उत्कृष्ट काम गरेर पुरस्कृत भएको बताउँदै उनले भगिनी सम्बन्ध कामय भएपश्चात् सुखदुःखमा सामिप्यता कायम गर्दै सहयोग गरेर जाने बताए । नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायले राष्ट्रियताको सन्दर्भलाई जोडेर हेर्ने हो भने यो सम्बन्ध महत्वपूर्ण भएको बताए । ‘राष्ट्रियताको सन्दर्भलाई जोडेर हेर्ने हो भने यो सम्बन्ध महत्वपूर्ण छ । प्रशासनिक तहमा गुल्मीको पहुँच रहेको छ । यसको फाइदा ललितपुरले लिन सकोस्, ललितपुरको जस्तो सुन्दर र सफा महानगर अन्त छैन, यहाँको कला, संस्कृति, बजारको सदुपयोग गुल्मीले लिन सकोस्’, पूर्वसचिव उपाध्यायले भने ।

मालिका गाउँपालिकाका प्रमुख देवीराम अर्यालले यो सम्बन्ध मालिकावासीका लागि गौरवको विषय भएको बताए । ‘भगिनी सम्बन्ध कायम गर्ने यो सम्झौता हुनु यो गौरवको विषय हो, पहल गर्नुहुने सबैमा आभार व्यक्त गर्न चाहन्छु । दुवै स्थानीय पालिकावासीका लागि कोसेढुङ्गा सावित हुनेछ । कला, संस्कृति, सम्पदाका विषयमा लाभ हुने विश्वास राख्दछु’, अध्यक्ष अर्यालले भने । उनले दुई पालिकाबीचको सामिप्यताका लागि पाटन नामको सांस्कृतिक सम्पदा निर्माण गर्ने बताए ।

महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले भगिनी सम्बन्ध कायम गर्ने विषयको समझदारी पत्रमा हस्ताक्षरले राम्रो संस्कारको सुरुआत भएको बताइन् । ‘एक स्थानीय तह र अर्को स्थानीय तह राम्रो संस्कारको सुरुआत भएको छ । भगिनी सम्बन्धले सौहार्दता, सुमधुर सम्बन्धको विकास हुनेछ भन्ने अपेक्षा राख्दछु । यो सम्बन्ध चीरकालसम्म जीवन्त होस्, एकअर्कामा आधार सम्मान कामय होस् । यो भगिनी सम्बन्ध केवल समझदारी पत्रको लेनदेनमा मात्रै सीमित नहोस्’, उपप्रमुख शाक्यले भनिन् । उनले दुई पालिकाबीचको संस्कृति, परम्परा र उत्पादनमा सहकार्य कायम होस् भन्ने कामना गरिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७