महाकाली सिँचाइ मूल नहरमा पानी परीक्षण गरिँदै

बालबालिका र चौपाया सुरक्षामा ध्यान दिन आग्रह


२२ असार २०८०, शुक्रबार
mahakali sinchai 9R0wFqhJPN

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली सिँचाइ आयोजनाले तेस्रो चरणको मूल नहरमा परीक्षणका लागि पानी छोड्ने तयारी गरेको छ ।

आयोजनाले आज ब्रह्मदेवदेखि फुलेलीसम्म २७ किलोमिटर मूल नहरमा पानी परीक्षण गर्न लागेको महाकाली सिँचाइ तेस्रो चरण आयोजनाका सिनियर डिभिजनल इन्जिनियर शम्भुराज पण्डितले जानकारी दिए । ‘मूल नहरमा तीनदेखि दश क्युसेकसम्म पानी छोड्ने तयारी छ’, उनले भने । नहरमा पानी छोड्ने भएकोले सो क्षेत्रका बासिन्दालाई आफ्ना बालबालिका, चौपायालगायतको सुरक्षामा ध्यान दिन आग्रह गरेको छ ।

गत वर्ष टनकपुर ब्यारेजबाट पानी ल्याएर असार १५ गते धान दिवस मनाए पनि भारतीय पक्षले त्यसपछि नहरमा पानी छोड्न मानेको थिएन । आयोजनाअन्तर्गत हालसम्म २८ किलोमिटर मूल नहर निर्माण भएको छ । नहर निर्माण भएको क्षेत्रमा २२ शाखा नहर निर्माणाधीन अवस्थामा छन् । २२ शाखा नहर निर्माण भए पछि पाँच हजार एक सय हेक्टरमा सिँचाइ सुविधा उपलब्ध हुनेछ । अहिले थप २० किलोमिटर नहर निर्माणको काम चलिरहेको छ ।

आगामी आर्थिक वर्ष २०८०/८१ मा आयोजनाका लागि रु एक अर्ब १७ करोड बजेट विनियोजन भएको छ । राष्ट्रिय गौरवको आयोजना भए पनि अपेक्षाकृत बजेट विनियोजन हुन नसकेको उनले बताए । नहर निर्माण सम्पन्न भए कैलालीको मालाखेतीदेखि कञ्चनपुरको पुनर्वासम्म ३३ हजार पाँच सय २० हेक्टर जग्गामा सिँचाइ सुविधा पुग्नेछ । टनकपुर ब्यारेजस्थित महाकाली नदीबाट बर्खामा एक हजार क्युसेक र सुख्खायाममा साढे तीन सय क्युसेक पानी उपलब्ध हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७