अज्ञात रोग फैलिएको कालीकोटमा पुग्यो चिकित्सकको टोली


२३ असार २०८०, शनिबार
kalikott6

काठमाडौँ । कालीकोटको तिलागुफा नगरपालिका–१० मा अज्ञात रोग फैलिएको रुडु र रानावाडा गाउँमा चिकित्सकको टोली पुगेको छ । अज्ञात रोग फैलिएको रुडु र राना गाउँमा तिलागुफा नगर अस्पताल र जिल्ला अस्पताल कालीकोटबाट चिकित्सकको टोली पुगेको हो । एक सातादेखि फैलिएको अज्ञात रोगबाट एक १३ वर्षीया कर्मा थापाको मृत्यु भएको छ भने १७८ जना बिरामी परेका छन् ।

गाउँका फैलिएको अज्ञात रोगका उपचारका लागि तिलागुफा नगर अस्पताल राँचुलीका प्रमुख डा. टङ्कप्रसाद आचार्यसहितको टोली पुगेर उपचारको थालनी गरेको नगरपालिकाका प्रमुख शङ्कर उपाध्यायले जानकारी दिए । ‘अज्ञात रोग फैलिएको ठाउँमा स्वास्थ्यकर्मीको टोली पुगेर उपचार गरिरहेको छ,’ उनले भने, ‘अहिले नगरपालिकाको चिकित्सकसहितको टोली अज्ञात रोग फैलिएको गाउँमा रहनु भएको छ ।’

रुडु गाउँ र रानावाडा गाउँमा फैलिएको अज्ञात रोग भाइरल फ्लुबाट प्रभावित व्यक्तिमध्ये एक सय ६० जनाको स्वास्थ्य जाँच भएको र अन्यको उपचार भइरहेको तिलागुफा नगर अस्पतालका प्रमुख डा. टङ्कप्रसाद आचार्यले जानकारी दिए । ‘नगर अस्पताल र जिल्ला अस्पताल चिकित्सकसहित टोलीले उपचार गरिरहेका छौँ’, उनले भने, ‘रोगबाट प्रभावित व्यक्तिहरु हाम्रो सम्पर्कमा आउने क्रम जारी रहेको छ ।’

ज्वरो आउने, टाउको दुख्ने, अनुहारमा दाग देखिने र हातखुट्टा सुनिने लक्षण रहेको केही नमूना सङ्कलन गरेर प्रयोगशालामा परीक्षणका लागि पठाइएको त्यसपछि मात्र कुन रोग हो भन्ने यकीन हुने डा. आचार्यले जानकारी दिए । ‘लक्षण हेर्दा भाइरल मौसमी फ्लू पनि हुनसक्छ,’ उनले भने, ‘प्रयोशशाला विधिका नमूना सङ्कलन पठाएका छौँ । त्यसको रिर्पोट आए पनि कुन रोग हो । त्यसपछि मात्र भन्न सकिन्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७