आर्थिक अराजकता नियन्त्रणमा पूर्ण प्रतिबद्ध छु : अर्थमन्त्री डा. महत


२८ असार २०८०, बिहीबार
Prakash shran 1 scaled

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले ठूलो समस्याका रुपमा रहेको बेरुजु कम गर्नका लागि अर्थ मन्त्रालय जागरुक भएर लागेको बताएका छन् । कतिपय करदाता अदालत गएको निर्णयमा अनियमित भएका कारणले बेरुजु देखिएको उल्लेख गर्दै उनले समग्रमा आर्थिक अनुशासन कायम राख्ने र थप बढ्न नदिनेमा प्रतिबद्धता व्यक्त गरे ।

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत अर्थ मन्त्रालयको विभिन्न शीर्षकमाथि उठेका प्रश्नको जवाफमा उनले विभिन्न स्वरुपमा बेरुजु रहने भएकाले त्यो सबै दुरुपयोग भयो भन्नु गलत रहेको बताए । आर्थिक अराजकता नियन्त्रणका लागि आफू पूर्णरुपमा लागिपरेको बताए ।

मुलुकभित्र अत्यावश्यक कामका लागि आवश्यक रकम जोहो गर्न तथा अत्यावश्यक कामका लागि खर्च गर्नका लागि आकस्मिक कोषमा रकम राखिएको जानकारी दिए । विविध शीर्षकमा बढी बजेट राखिएको भन्ने सांसदहरुको जिज्ञासाको जवाफमा मन्त्री डा. महतले अत्यावश्यक समस्यामा खर्च गर्ने रकमको जोहोका लागि विविध शीर्षकमा बजेट राखिएको बताए ।

उनले राष्ट्रियसभाका सदस्यका तर्फबाट प्राप्त भएको सुझावलाई अक्षरशः पालना गर्ने प्रतिबद्धता जनाए । अर्थमन्त्री डा. महतले आर्थिक अनुशासन कायम गरिने र त्यसमा कुनै आशङ्का नगर्न समेत आग्रह गरे । बजेट कार्यान्वयमा देखिएका समस्या समाधानका लागि सरकारले पहल थालिसकेको उनको भनाइ छ ।

बजेट छर्ने प्रवृत्तिलाई रोक्न खोज्दा खोज्दै पनि तत्काल नसकिएको अर्थमन्त्रीले जानकारी दिए । बूढीगण्डकी जलविद्युत् आयोजनाका लागि भनेर पेट्रोलियम पदार्थमार्फत उठाइएको रकम मुआब्जा वितरणका लागि खर्च भएको उल्लेख गरे । मन्त्री डा. महतले सो आयोजना निर्माणका लागि कम्पनी स्थापनाको प्रक्रिया अगाडि बढेको भनाइ राखे । मुलुकका आइपर्ने अत्यावश्यक कामका लागि खर्च गर्नका लागि विविध शीर्षकमा रकम राख्नैपर्ने उल्लेख गर्दै उनले प्राकृतिक विपद्लगायतका कामका लागि अनावश्यक खर्च निषेध गर्ने र अनुशासन कायम गर्न आफू पूर्णरुपमा प्रतिबद्ध रहेको स्पष्ट पारे ।

अर्थमन्त्री डा. महतले नियम कानुनभन्दा बाहिर गएर कुनै पनि सरकारी स्रोत खर्च गर्न नसक्ने बताए । आम्दानी नै कम भएकाले सङ्घीय सरकारको बजेट बढी घटाएर प्रदेश सरकारको बजेट कम मात्रै घटाइएको उनको भनाइ छ । बेथितीका कारण जोडिँदै आएका समस्या समाधानका लागि आफूले इमान्दार प्रयास गरेको अर्थमन्त्री डा. महतको दाबी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७