परराष्ट्रमन्त्री साउदसँग अमेरिकी सहायक विदेशमन्त्रीको भेटवार्ता, एमसीसी कार्यान्वयनबारे छलफल


२९ असार २०८०, शुक्रबार
np

काठमाडौं । अमेरिकाका लागि दक्षिण तथा मध्य एशिया मामिला हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले अमेरिकी अनुदान सहायता परियोजना एमसीसी कार्यान्वयनबारे परराष्ट्रमन्त्री एनपी साउदसँग छलफल गरेका छन् ।

परराष्ट्रमन्त्री साउदसँग आज (शुक्रबार) अपराह्न मन्त्रालयमा भएको भेटवार्ताका क्रममा लुले एमसीसी कार्यान्वयनबारे छलफल गरेको मन्त्री साउदको सचिवालयले जनाएको छ । भेटमा सन् २०२६ मा नेपाल अल्पविकसित मुलुकहरूको सूचीबाट स्तरोन्नति र सो पश्चात् पनि अमेरिकाबाट नेपाललाई प्राप्त हुने सहयोगको निरन्तरता र बढोत्तरी र दुबै मुलुकबीचको द्विपक्षीय हितका विषयमा छलफल भएको छ ।

परराष्ट्रमन्त्री साउदले सहायकमन्त्री लुलाई अमेरिकाबाट प्राप्त नियमित सहयोग र कोभिड–१९ को संकटको समयमा प्राप्त भएको विशेष सहयोगका लागि कृतज्ञता व्यक्त गरे । सहायक विदेशमन्त्री लुले विकासका आकांक्षा पूरा गर्ने सन्दर्भमा पुरानो विकास साझेदारको नाताले नेपाललाई अमेरिकाको सहयोग निरन्तर रहने प्रतिवद्धता जनाए । यसअघि विदेशमन्त्री लुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७