भूमि आयोगद्वारा निस्सा वितरण


३१ असार २०८०, आईतवार
lalpurja 1

ललितपुर । राष्ट्रिय भूमि आयोग जिल्ला समिति ललितपुरले गोदावरी नगरपालिकाको वडा नं ७ मा भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण गरेको छ । आज आइतबार गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र उपप्रमुख मुना अधिकारीसहितको उपस्थितिमा आयोग जिल्ला समिति ललितपुरले १४ भूमिहीन परिवारलाई निस्सा वितरण गरेको हो ।

भूमि आयोग जिल्ला समिति ललितपुरका संयोजक श्रीगोविन्द महर्जनका अनुसार उपत्यकामै पहिलो पटक गोदावरी नगरपालिकाको वडा नं ७ देविचौरमा तीन जना भूमिहीन दलित सहित १४ परिवार भूमिहीनलाई निस्सा वितरण गरिएको हो । राष्ट्रिय भूमि आयोग जिल्ला समिति ललितपुरले यसअघि जेठ ३१ गते बागमती गाउँपालिकाका ९४ भूमिहीनलाई निस्सा वितरण गरेको थियो ।

‘हामीले आवश्यक प्रक्रिया सम्पन्न गरी ललितपुरमा बागमती गाउँपालिका र गोदावरी नगरपालिका वडा नं ७ का समेत गरी एक सय आठ भूमिहीनलाई निस्सा वितरण गरेका छौँ । निस्सा उपलब्ध भएपछि पुर्जा वितरणका लागि आधा काम सम्पन्न भएको मानिन्छ’, संयोजक महर्जनले भने ।

त्यस अवसरमा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले दुई महिनाभित्र नगरपालिकाका सबै वडामा निस्सा वितरणको काम सम्पन्न गर्ने बताए । ‘आज यस नगरपालिकाको वडा नं ७ मा निस्सा वितरणको काम सम्पन्न भएको छ, भूमि आयोगसँगको समन्वयमा हामी दुई महिनाभित्र नगरका सबै वडामा निस्सा वितरणको काम सम्पन्न गर्छौं । काम द्रुत गतिमा अगाडि बढ्छ, सम्भव भएसम्म दसँैअगावै पुर्जा वितरणको कामलाई अगाडि बढाउने छौँ’, नगर प्रमुख महर्जनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७