युरोपियन लिगतिर सम्बा, सिंहदरबारबाट मन्त्री लिम्बूले गरे विदाइ


३ श्रावण २०८०, बुधबार
Samba

काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले प्रतिष्ठित युरोपेली फुटबल क्लबबाट व्यावसायिकरुपमा खेल्ने अवसर प्राप्त गरेकी नेपाली महिला राष्ट्रिय फुटबल टोलीका खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ लाई बधाईसहित विदाइ गरेका छन् ।

मन्त्रालयमा आज आयोजित कार्यक्रममा उनले फुटबल खेलप्रतिको लगन र मिहेनतले इजरायलको हापोइल रनाना फुटबल क्लबमा आबद्ध हुने मौका प्राप्त गरेकी खेलाडी भण्डारीलाई शुभकामनासहित बधाई दिएका हुन् ।

उनको प्रशंसा व्यक्त गर्दै मन्त्री लिम्बूले प्राप्त मौकाको सदुपयोग गरी नेपाली फुटबलको स्तरवृद्धिका साथै आफ्नो खेल कौशलमा अझ निखार ल्याउन सफल हुने अपेक्षा गरे । लम्जुङ सिमपानी निवासी खेलाडी भण्डारीले नेपालको राष्ट्रिय फुटबल टोलीमा संलग्न रही विभिन्न प्रतियोगितामा कौशल प्रदर्शन गरेर राष्ट्रको शान बढाउन पुर्‍याएको योगदानको मन्त्रालयले उच्च प्रशंसा गरेको छ ।

युरोपेली क्लबमा आबद्ध हुने पहिलो महिला खेलाडी उनी आगामी अगस्तको पहिलो साता त्यसतर्फ प्रस्थान गर्नेछिन् । यसअघि खेलाडी भण्डारीले सेथु एएफसी र गोकुलम केरला भारतमा व्यावसायिकरुपमा रही लिग खेल खेलेकी थिइन् । नेपाली फुटबल खेलको दुनियाँमा उनको छवि फर्वाड खेलाडीका रुपमा चर्चित छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७