मणिपुरमा कुकी महिलालाई निर्वस्त्र गाउँ डुलाएर सामुहिक बलात्कार


४ श्रावण २०८०, बिहीबार
manipur cXapuGpDX0
विरोध प्रदर्शन गर्दै कुकी महला । तस्वीर स्रोत : सामाजिक सञ्जाल

काठमाडौँ । मणिपुरमा गएको दुई महिनायता मेइती र कुकी समुदायबीच साम्प्रदायिक हिंसा जारी छ । हिंसात्मक द्वन्द्वकाबीच बुधबार सामाजिक सञ्जालमा एक जघन्य अपराधको भिडियो बाहिरियो । भिडियोमा दुई कुकी महिलामाथि यौन दुर्व्यवहार गरिएको छ ।

सार्वजनिक भिडियोमा युवाहरूको ठूलो भिडले ती महिलालाई निर्वस्त्र बनाएर गाउँ डुलाइरहेको देख्न सकिन्छ । भारतीय सञ्चार माध्यमका अनुसार उक्त भिडियोको पुष्टि गर्दै मणिपुर प्रहरीले घटना ४ मेको भएको बताएको छ । मणिपुरको थौबल जिल्लामा ती महिला यौन दुर्व्यवहारको सिकार भएको प्रहरीले बताएको छ । मणिपुर प्रहरीका उच्च अधिकारी एसपी के मेघचन्द्र सिंहले यस घटनाका सम्बन्धमा जारी गरेको प्रेस नोटमा मणिपुर प्रहरीले दोषीलाई पक्राउ गर्न सक्दो प्रयास गरिरहेको बताएका छन् । तर हालसम्म यो घटनामा कोही पनि पक्राउ परेका छैनन् ।

‘यो घटना मे ४ को हो । घटनामा अज्ञात समूहविरुद्ध अपहरण, सामुहिक बलात्कार र हत्याको मुद्दा दर्ता भएको छ । यस विषयमा अनुसन्धान सुरु भइसकेको र शीघ्र दोषीलाई पक्राउ गर्ने प्रयास जारी छ,’ भिडियो सार्वजनिक भएपछि प्रहरीले विज्ञप्तिमार्फत जानकारी दिएको छ । इण्डियन एक्सप्रेसले मेइतीबहुल थौबल जिल्लामा मे ४ मा कुकी–जोमी समुदायका महिलामाथि यौन दुर्व्यवहार भएको लेखेको छ । उनीहरुविरुद्ध १८ मेमा कांपोकपी जिल्लामा उजुरी दर्ता भएको र उक्त उजुरी सम्बन्धित प्रहरी चौकीमा पठाइएको उल्लेख गरेको छ ।

भिडियोमा देखिएकी एक महिलाको उमेर करिब २० वर्ष र अर्की महिलाको उमेर ४० वर्ष रहेको बताइएको छ । भिडियोमा दुई जना महिला मात्रै देखिन्छन् । तर भीडले ५० वर्षीया महिलालाई पनि निर्वस्त्र पारेर दुर्व्यवहार गरेको उजुरी परेको छ ।
उजुरीमा महिलालाई सामुहिक बलात्कार गरेर हत्या गरेको उल्लेख गरिएको छ ।

८ सयदेखि १ हजार मानिसले महिलालाई आक्रमण गरेको बताइएको छ । तीन महिलालाई भीडको अगाडि नग्न हिंड्न बाध्य पारिएको थियो र युवतीलाई सार्वजनिक रूपमा सामुहिक बलात्कार गरेको आरोप छ । महिलाका १९ वर्षीय भाइले बचाउन खोज्दा उनको पनि हत्या गरिएको पनि बताइएको छ ।

केन्द्रीय महिला तथा बाल विकास मन्त्री स्मृति इरानीले ट्वीटरमा उक्त घटनाबारे मुख्यमन्त्री बिरेन सिंहसँग कुरा भएको लेखेकी छन् । दोषीलाई कारवाही गर्न कुनै कसर बाँकी नछाड्ने प्रतिवद्धता उनले गरेकी छन् । उक्त भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा कारवाहीको माग गर्दै अधिकारकर्मीले अभियान चलाएका छन्। कांग्रेसलगायत विपक्षी दलले सत्तारुढ भाजपाले मौन रहेर हिंसात्मक गतिविधिलाई प्रोत्साहन गरिरहेको आरोप लगाएका छन्। एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७